नेप्से परिसूचक ८‍.९० अंकले बढ्यो, ३ कम्पनीमा लाग्याे सकारात्मक सर्किट

काठमाडाैं, २८ जेठ । नेप्से परिसूचक ८.९० अंकले बढेर २०८२.०९ विन्दुमा पुगेको छ।

सोमबार ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७८२ रुपैयाँ बराबरको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा अझ बढेको छ।

सोमबार बजारमा ठूलो उतारचढाव नभएपनि केहि समूहकाे शेयरमा भने लगानीकर्ताको आकर्षण देखिएको हाे। यस दिन हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै २ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसमूहको १.३८ प्रतिशत र फाइनान्स उपसमूहको १.२१ प्रतिशतले बढेको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक सकारात्मक छ भने ६ उपसमूहको सूचक नकारात्मक छ जुनमा म्युचुअल फण्ड उपसमूहको सूचक ३ प्रतिशतभन्दा धेरै घटेको छ।

यस दिन त्रिशुली जलविद्युत र कुथली बुखरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने पिपुल्स पावरको पनि ९.९९ प्रतिशतले बढेको छ।

यस दिन जानकी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.६७ प्रतिशतले घटेको छ भने बाराही हाइड्रोपावरको ५.३९ प्रतिशत र भगवती हाइड्रोपावरको ४.८३ प्रतिशतले घटेको छ।

यस दिन एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै ४१ करोड ८७ लाख रुपैयाँको शेय कारोबार भएको छ भने माउन्टेन इनर्जीको २४ करोड ४७ लाख र जानकी फाइनान्सको १६ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।