नक्कली लाइसेन्स प्रकरण : यातायातका तत्कालीन प्रमुखसहित १५ जनाविरूद्ध मुद्दा

काठमाडाैं, २५ असार । नक्कली सवारी चालक अनुमति पत्र बनाएको अभियाेगमा १५ जनाविरूद्ध मुद्दा दायर भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतमा १५ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार मुद्दा दायर गरेको हो।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बुटवल कार्यालय प्रमुख उपसचिव केशव अर्याल, तत्कालीन कम्प्युटर अपरेटरहरु लक्ष्मण पाण्डे, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे र पदमराज आचार्य, सहायक पाँचौं सुवास पौडेलविरुद्ध अभियोग दर्ता भएको छ ।

त्यस्तै यातायात व्यवस्था कार्यालय कावासोती नवलपरासीका तत्कालीन कम्प्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, यातायात व्यवस्था कार्यालय कास्कीका कम्प्युटर अपरेटर विनोद भण्डारी, यातायात व्यवस्था कार्यालय चितवनका सहायक चौथो राजेश लम्साल, यातायात व्यवस्था कार्यालय झापाका कम्प्युटर अपरेटर विवेक भण्डारी र यातायात व्यवस्था कार्यालय धनुषाका कम्प्युटर अपरेटर दिलीपकुमार शाहविरुद्ध अभियोग दायर भएको छ ।

विभागले अहिले केन्द्रीय सवारी चालक अनुमतिपत्र प्रणाली (इडिएल) को संचालन र व्यवस्थापन गर्दै आएको छ। यो प्रणाली आउनुभन्दा अगाडि ड्राइभिङ लाइसेन्स (डिएल) र त्यस भन्दा अगाडि ढड्डामा विवरण राखेर सवारीचालक अनुमति पत्र दिने गरिएको थियो। डिएल प्रणालीमा भएको विवरण इडिएल प्रणालीमा स्थानान्तरण गर्ने काम जारी छ।

स्थानान्तरण गर्ने क्रममा कार्यालयका कर्मचारीहरू समेतको मिलेमतोमा फर्जी विवरण हालेर गैर कानुनी तरिकाले सवारीचालक अनुमति पत्र वितरण गर्ने गरेको खुलेको थियो।

आरोपीमध्ये ६ जनामात्र पक्राउ परेका छन् । आरोपीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गर्न पत्राचार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *