ट्रम्पमाथि गाेली प्रहार गर्ने व्यक्तिकाे पहिचान गरेको दाबी

काठमाडौं, ३० असार । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली चलाउने आक्रमणकारीको पहिचान गरेको एफबीआईले दाबी गरेको छ ।

एफबीआईको विज्ञप्तीमा ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्ति २० वर्षीय थोमस म्याथ्यु क्रूक्स रहेको बताइएको छ । क्रूक्स बेथेल पार्क, पेन्सिलभेनिया निवासी हुन् ।

शीर्ष अनुसन्धान एजेन्सीले ट्रम्पमाथि भएको आक्रमणको विस्तृत अनुसन्धान भइरहेको बताएको छ । साथै, घटनाबारे जानकारी दिन सर्वसाधारणलाई अपिल गरिएको छ ।

अनुसन्धान एजेन्सीले भनेको छ, ‘यदि मानिसहरूसँग कुनै तस्वीर वा अनलाइन भिडियो छ भने उनीहरूले यसलाई साझा गर्न सक्छन् । आक्रमणको कारण के थियो भन्ने अझै खुल्न सकेको छैन ।’

गोली चल्नेबित्तिकै सेक्रेट सर्भिसका मानिसहरूले ट्रम्पलाई घेरेर मञ्चबाट निकाले । ट्रम्पलाई बाहिर निकाल्दा उनको अनुहारमा रगत देखिएको थियो । ट्रम्पले गोली लाग्ने बित्तिकै भने, ‘मेरो कानबाट गोली निस्कियो ।’

आफैँले खोलेको सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा सन्देश लेख्दै ट्रम्पले आफू ‘सकुशल रहेको’ र स्थानीय स्वास्थ्य संस्थाले आफ्नो उपचार गरिरहेको उल्लेख गर्नुभएको छ ।

ट्रम्पले लख्नुभएको छ, “र्‍यालीमा सुइँय्य गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो ।” “धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ,” उहाँले थप्नुभयो ।

उहाँका अनुसार गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। बन्दुकधारी मारिएको अधिकारीहरूले दाबी गरेका छन् । यो घटनालाई राजनीतिक हत्याको षडयन्त्रका रूपमा लिइएको र यसतर्फ पनि अनुसन्धान भइरहेको जनाइएको छ ।