जाजरकोट भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जाजरकोट भूकम्पबाट प्रभावित अधिकांशले अस्थायी आवासका लागि अनुदान रकम अझै पाउन नसकेको भन्दै ध्यानाकर्षण गराउनुभएकाे छ ।

रुकुम–पश्चिम र रुकुम–पूर्वका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीयस्तरका नेता, सांसदसहित जिल्ला नेतृत्वले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापन पत्र बुझाउनुभएकाे हाे ।

गत कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भई ५.७ म्याग्निच्युडको भूकम्प गएकाे थियाे । भूकम्पमा १५७ जनाको ज्यान गएकाे थियाे भने ३७५ जना घाइते भएका थिए। भूकम्पको धक्का पश्चिमी नेपाल र उत्तरी भारतमा व्यापक रूपमा महसुस गरिएको थियो।

भूकम्पबाट प्रभावित भएकाका लागि सरकारले तय गरेको पहिलो र दोस्रो किस्ताको रकम यथाशीघ्र उपलब्ध गराउनुपर्ने विषयमा प्रधानमन्त्री ओली समक्ष ध्यानाकर्षण गराइएकाे थियाे ।

ज्ञापनपत्रमा पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजना कार्यालय स्थापना गर्न माग गरिएको छ । यसगैरी तत्कालीन सशस्त्र द्वन्द्वका समयका विभिन्न घटनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इतर पक्षलाई राजनीतिक पहुँच र कानुनी प्रभावमा राखी लोकतन्त्रको अनुभूति गर्न नदिइएको गुनासो प्रधानमन्त्री ओलीसमक्ष गरिएको छ ।

ज्ञापनपत्र बुझाउन एमालेका पोलिटब्युरो सदस्य खेममान खड्का, कांग्रेसका राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय, एमालेका प्रतिनिधिसभा सदस्य चन्द्रबहादुर विश्वकर्मा, कांग्रेसका पूर्वरा ज्यमन्त्री गोपालजीजङ्ग शाह, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, रुकुमपूर्वका एमालेका जिल्ला अध्यक्ष लीलामणि गौतम, सोही कांग्रेसका प्रदेश सदस्य सरिता बिसी, रुकुम–पश्चिमका कांग्रेस जिल्ला अध्यक्ष प्रेमप्रकाश ओली, सोही जिल्लाका एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटालगायत सहभागी हुनुहुन्थ्यो ।