नेप्से परिसूचक ११३ अंक बढेर बन्द, १८ वाणिज्य बैंकको शेयर सकारात्मक

काठमाडाैं, १३ साउन । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंकमा बढेको छ।

साताको पहिलो कारोबार दिन नेप्सेमा दुई पटक सर्किट ब्रेक लागेसंगै नेप्से परिसूचक उच्च अंकले बढेकाे हाे । यस दिन नेप्से परिसूचक ११३.४२ अंक बढेर २६८१.५६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.८२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ८.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १०.०५ अंक बढेको छ।

बजारमा खुलेको साढे १ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेपछि पहिलो सर्किट ब्रेक लागेर बजार २० मिनेटका लागि बन्द भएको थियो। त्यसपछि खुलेको बजार १ मिनेट पनि नबित्दै ५ प्रतिशत बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो। तर, सोपश्चात खुलेको बजारमा सप्लाई केही बढेपछि तेस्रो सर्किट ब्रेक भने लाग्न सकेन।

नेप्सेको वृद्धिलाई यस दिन भोल्यूमले पनि साथ दिएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १४ अर्ब १३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको १ लाख ६३ हजार ८१० पटकको कारोबारमा १५ अर्ब ८१ करोड ५ लाख रुपैयाँ बराबरको ४ करोड ३ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले वाणिज्य बैंकहरुको खराब कर्जा घटाउने उद्देश्यले असल कर्जामा १.१ प्रतिशत मात्रै प्रोभिजन गरे पुग्ने व्यवस्था गरेको थियो।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआईसी एशिया बैंकको करिब ३५ करोडको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्स र शिवम् सिमेन्ट्सको कारोबार रकम ३२ करोड नाघेको छ।

यस दिन नेपाली धितोपत्र बजारमा बैंकिङ्ग उपसमूहको परिसूचक उच्च दरमा बढेको छ। यससँगै
यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक प्रतिशत बढेको छ। नेप्सेमा सूचीकृत सबै बैंकहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै बैंकिङ्ग उपसमूहको परिसूचक पनि उच्च दरमा बढेको हो। यस दिन १९ वाणिज्य बैंकहरुमध्ये १८ बैंकहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आइतबार लघुवित्त उपसमूहको परिसूचक मात्र नकारात्मक भएको छ। सो उपसमूहको परिसूचक यस दिन ०.१८ प्रतिशत घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *