डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरलानाकाका पूर्वाधार

मुस्ताङ, १३ मङ्सिर । नेपाल–चीन उत्तरी कोरलानाकामा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दा पनि निर्माण कार्य सुरु हुन सकेको छैन ।

सरकारले विसं २०७९ फागुनमा कोरलानाका क्षेत्रमा भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्टलगायत संरचना निर्माणका लागि डिपिआर सर्भे गरेको थियो । त्यसअघि नै नाकाको नेपालतर्फ करिब एक हजार रोपनी जग्गा भन्सारलगायतका पूर्वाधार निर्माणका लागि नेपाल सरकारका नाममा प्राप्त गरिसकिएको थियो ।

चीनसँगको व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले गरिएको सर्भे दुई महिनासम्म सञ्चालन भएको थियो । सो क्रममा प्रस्तावित पूर्वाधार निर्माणस्थलको भौगर्भिक अवस्था तथा माटो परीक्षणसमेत गरिएको थियो । तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास समितिको योजनाअनुसार भन्सारसहितका आवश्यक संरचना निर्माणका लागि डिपिआर तयार गरिएको हो ।

सितारा इन्टुसीप–फुलराइट जेभीले रु एक करोड लागतमा ठेक्का सम्झौता गरी डिपिआर सर्भे सम्पन्न गरेको थियो । प्रतिवेदन सरकारलाई बुझाएको लामो समय बितिसक्दा पनि पूर्वाधार निर्माण अघि नबढ्नु दुःखद् भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताउनुभयो ।

उहाँका अनुसार चीनसँग सीमा जोडिएका नाकामध्ये कोरलानाका महत्वपूर्ण वैकल्पिक व्यापारिक नाकाका रूपमा स्थापित भइसके पनि आवश्यक पूर्वाधारको अभावमा निकासी–पैठारी व्यापार व्यवस्थापन तथा पारवहन नाकाका रूपमा विकास गर्न समस्या भइरहेको छ ।

उपल्लो मुस्ताङका नागरिकका लागि कोरलानाका खुला गरिएको तीन वर्ष भइसकेको छ भने वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालनमा आएको पनि दुई वर्ष पुगेको छ । गत वर्ष यस नाकाबाट रु छ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षको पहिलो चार महिनामै रु १२ अर्बभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ ।

पछिल्लो समय कोरलानाकाबाट दैनिक ६० देखि ७० वटासम्म कन्टेनर र करिब १०० वटा विद्युतीय गाडी नेपाल भित्रिने गरेका छन् । व्यापारिक गतिविधि बढ्दै गए पनि आवश्यक भौतिक पूर्वाधारको अभावमा नाका सञ्चालन तथा सवारी व्यवस्थापनमा समस्या देखिएको छ ।

तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा बन्द रहेको अवस्थामा कोरलानाकामा व्यापारिक चहलपहल थप बढेको छ । बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै दैनिक सयौँ कन्टेनर तथा विद्युतीय सवारीसाधन आवतजावत गर्ने गरेका छन् । नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि लोमान्थाङ–४ न्हेचुङस्थित भन्सार यार्डमा कन्टेनर र विद्युतीय सवारीको चाप बढेको छ ।

सुक्खा बन्दरगाहको अभावमा कन्टेनर सडकमा अव्यवस्थित रूपमा पार्किङ गर्नुपर्ने अवस्था रहेको छ । कतिपय अवस्थामा तीन लेनसम्म सडक ढाकिने गरी कन्टेनर राखिँदा कोरलानाका जाने मुख्य सडकको आवागमनसमेत प्रभावित हुने गरेको छ ।

बिवाइडी गाडी आयातकर्ता साइमेक्स इङ्कका प्रतिनिधि धर्मवीर मण्डलले आवश्यक पूर्वाधार र चार्जिङ स्टेसन नहुँदा विद्युतीय गाडीसमेत खोला किनार तथा भिरको छेउमा असुरक्षित रूपमा राख्नुपर्ने अवस्था रहेको बताउनुभयो । सुक्खा बन्दरगाह निर्माण भए कन्टेनर तथा सवारी व्यवस्थापन सहज हुने उहाँको भनाइ छ ।

कोरलानाकाको अवलोकनमा सङ्घ तथा प्रदेशका मन्त्री र विशिष्ट व्यक्तिहरू पुग्ने गरे पनि पूर्वाधार निर्माणका लागि आश्वासनबाहेक ठोस काम अघि बढ्न नसकेको स्थानीय जनप्रतिनिधिको गुनासो छ । गण्डकी प्रदेशको आर्थिक गतिविधि तथा व्यापारका लागि महत्वपूर्ण मानिएको नाकाको पूर्वाधार निर्माणमा अब ढिलाइ गर्न नहुने उनीहरूको माग छ ।

यसै साता कोरलानाकाको अवलोकनमा पुगेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीसमक्ष पनि स्थानीय जनप्रतिनिधिले राजस्व सङ्कलनमा मात्र नभई नाकाको आवश्यक पूर्वाधार निर्माणमा समेत ध्यान दिन आग्रह गरेका थिए । समितिका सभापति आशिष गजुरेलसमक्ष उनीहरूले कोरलानाकाको पूर्वाधार निर्माणसँगै पहुँचमार्गको सडकलाई जतिसक्दो छिटो सहज बनाउन माग गरेका थिए ।

कोरलानाका क्षेत्रमा मात्र नभई मुस्ताङ भन्सार कार्यालय रहेको लोमान्थाङ–४ न्हेचुङमा पनि सरकारी निकायका लागि विसं २०७५ मै जग्गा उपलब्ध गराइएको थियो । कोरलानाका तथा लोमान्थाङ क्षेत्रमा विभिन्न सरकारी निकायका लागि एक हजार ४३६ रोपनी जग्गा उपलब्ध गराइएको छ । नेपाली सेनालाई लोमान्थाङको थुर्लुङ फाँटमा एक हजार २७१ रोपनी जग्गा उपलब्ध गराइएको थियो ।

न्हेचुङमा भन्सार कार्यालयका लागि १०९ रोपनी, अध्यागमन कार्यालयका लागि १२ रोपनी, नेपाल प्रहरीका लागि १३ रोपनी र सशस्त्र प्रहरीका लागि ३३ रोपनी जग्गा छुट्याइएको थियो । उपलब्ध जग्गामध्ये सशस्त्र प्रहरीले भवन निर्माण गरिसकेको छ भने नेपाल प्रहरीले भवन निर्माणका लागि हालै ठेक्का प्रक्रिया अघि बढाएको छ । भन्सार र अध्यागमन कार्यालयका भवन भने अझै निर्माण हुन सकेका छैनन् । भन्सार कार्यालयको स्तरोन्नतिको काम भने आंशिक रूपमा क्रमागत रूपमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *