एमाले सचिवालय बैठक जारी, नेताहरूको जिम्मेवारी हेरफेर हुने
काठमाडौँ, १७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले ) को सचिवालय बैठक जारी रहेकोे छ । पार्टी कार्यालय डुबानमा परेपछि बैठक होटल बसेरा हनुमानथानमा राखिएको हाे ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा भइरहेको बैठकले वर्तमान राजनीतिक अवस्थाको सङ्क्षिप्त समीक्षाका साथै केन्द्रीय नेताहरूको कार्य विभाजनका सम्बन्धमा निर्णय गर्ने तयारी गरेको छ ।
गत असार २६ गते बसेको पार्टी सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मापदण्ड बनाएर कार्य विभाजन गर्न बैठक बसेको हो ।
एमालेले गत वर्ष असारमा नेताहरूलाई फरक भूगोल र विभागमा जिम्मेवारी दिएको थियो । जेठ महिनासम्ममा जिल्ला र मातहतका कमिटीको अधिवेशनको कार्यादेशसहित उनीहरूलाई फरक भूगोलमा खटाइएको थियो । आजको बैठकले उनीहरूलाई पुरानै भूगोलमा फर्काउने तयारी छ ।