गुंला पर्वले गुञ्जायमान स्वयम्भू महाचैत्य (भिडियो कथा)

काठमाडौं, २१ साउन । प्रायः चहलपहल नै हुने काठमाडौंको स्वयम्भू महाचैत्य आजदेखि थप चहलपहलमय भएको छ । बिहान ५ बजेदेखि नै बाजागाजसहित स्वयम्भू महाचैत्य प्रदक्षिणा गर्न आउने भक्तजनहरूका कारण स्वयम्भू परिसर थप गुञ्जायमान बनेको छ । आजदेखि एक महिनासम्म स्वयम्भूमा यो चहलपहल जारी रहने छ ।
स्वयम्भू महाचैत्यमा शुरु भएको यो चहलपहलको कारण हो, आजदेखि शुरु भएको गुंला पर्व ।

मुख्य गरेर उपत्यकाका नेवार समुदाय यो गुंला महिनाभरि विभिन्न धर्मकर्ममा लाग्ने गर्दछन् । यो महिनाभरि विभिन्न बौद्ध स्मारक, चैत्य, बहाःबही आदि जस्ता धार्मिकस्थलमा पूजा, स्तोत्र पाठ आदि जस्ता कार्य गर्ने परम्परा रहि आएको छ ।

काठमाडौंमा भने यो महिनाभरि स्वयम्भू महाचैत्यमा ठूलो मेला लाग्ने गर्दछ । काठमाडौंका विभिन्न टोलका बौद्ध धर्मावलम्बीहरू आजदेखि धाः (ग्वारा¬) बाजा बजाई स्वयम्भू महाचैत्यको दर्शन गर्न जाने गर्दछन् । गुंला पर्वका बेला धाः बाजा बजाई स्वयम्भू प्रदक्षिणा गर्न विभिन्न टोलका विभिन्न जातीय समुदायको आआफ्नै बाजा समूह बनाइएको हुन्छ ।

मैत्रिन्युजको टीम आज झुल्केघाँससँगै स्वयम्भूको डाँडा पुग्दा काठमाडौंको मौसम गज्जबले खुलेको थियो भने निलो आकाशको मुन्तिर त्रयोदश भूवन र दुई आँखासहित आस्थाको धरोहर बनेर गजुरसहित स्वयम्भू महाचैत्य ठिङ्ग उँभिरहेको थियो ।

इतिहास अनुसार आजभन्दा करिब १० हजार वर्ष अघिसम्म काठमाडौं उपत्यका पानीले भरिएको तालको रुपमा रहेको थियो । उपत्यका पानीले पुरिएको भए पनि त्यो बेला समेत स्वयम्भू डाँडाको टुप्पो भने पानीको सतहभन्दा माथि नै निस्किएको थियो भन्ने किंवदन्ती पाइन्छ । त्यही टुप्पोबाट निस्किएको ज्योतिको रश्मि दर्शन गर्न महामञ्जुश्री यहाँ आउनुभएको किंवदन्ती छ ।

त्यसपछि उहाँले नै आफ्नो चन्द्रहाँस खड्गले चोभारको गल्छी काटेर तालमा जम्मा भएको पानीलाई बाहिर जान निकास खोल्नुभएको थियो भनिन्छ । पानी सबै बाहिर गई यहाँ समथर भूमि बनिसकेपछि उहाँले यहि स्वयम्भू डाँडाको ज्योतिलाई चैत्य बनाएर छोप्नुभएको भन्ने किंवदन्ती पनि पाइन्छ । यसरी स्वयम्भू महाचैत्यको गाथा काठमाडौंको उत्पत्तिसँगै जोडिएको पाइन्छ ।

यो गुंला महिनाभरि यहि इतिहास बोकेको स्वयम्भू महाचैत्यमा विभिन्न बौद्ध स्तोत्र पाठ गर्दै स्वयम्भू महाचैत्य परिक्रमा गर्ने परम्परा रहि आएको छ । यसमा खास गरी वज्रयानी बुद्ध धर्मसँग सम्बन्धित नवग्रन्थका सूत्रहरू पाठ गर्ने परम्परा पनि छ । यसमा विशेष गरी प्रज्ञापारमिता, नामसंगति, पञ्चरक्षा पाठ गर्ने पनि चलन छ ।

नेपाल संवत्को क्यालेण्डरमा दशौं महिनाका रुपमा गुंला पर्दछ । पुराना ग्रन्थहरूमा यसलाई ‘गुणिला’ भनी उल्लेख गरिएको छ । यसको अर्थ हुन्छ ‘गुणले भरिएको महिना’ । ‘गुणिला’ शब्द नै पछि ‘गुंला’ बन्न गएको हो । यो महिनामा अत्यन्तै धार्मिक कार्य गरिने भएकोले यसलाई ‘गुणिला’ भनिएको हो भन्ने किंवदन्ती पनि रहिआएको छ ।
यो आध्यात्मसँग सम्बन्धित महिना भएकाले यो महिनामा स्तोत्रपाठ गर्दा पुण्य मिल्ने पनि भनाई छ ।

श्रावण–भाद्र महिनामा निरन्तर पानी परिरहने भएकोले यो महिना नदीहरूमा बाढी आउने, चट्याङ पर्ने, पहिरो जाने जस्ता प्राकृतिक विपद्हरू आइरहेको हुन्छ । त्यस्ता विपद्हरूबाट कुनै धनजनको क्षति नहोस् भन्ने कामना गर्न पनि यो महिनाभरि धार्मिक कार्य गरिने विश्वास गरिन्छ ।

यो महिनामा लाख वटा चैत्य बनाउने र त्यसले पुन्यप्राप्त हुने पनि किंवदन्ती छ । यो विस्तारै लोप हुँदै गएको सो क्षेत्रका विज्ञहरुको भनाइ छ । महायान बज्रयान बौद्ध संप्रदायमा यो पर्वको बढी महत्व रहँदै आएको छ ।

परम्परासँगै धार्मिक आस्थासँग पनि जोडिएको यो पर्वका बेला ललितपुर, भक्तपुर र काठमाडौंका पनि विभिन्न ठाउँबाट स्वयम्भूमा दर्शनका लागि आउने चलन छ ।
हामी पुग्दा स्वयम्भू परिसरमै रहेको ज्ञानमाला भजन मण्डलमा भजन–किर्तन चलिरहेको थियो भने त्यहि नजिकै दिगंवत आफन्तको चीरशान्तिको कामना गर्दै दीप प्रज्जलन गर्दै गरेका दृष्य पनि देखिएका थिए । । कतै समूह–समूहमा स्तोत्रपाठ गरिरहेका दृष्य पनि देखिन्थे ।

राँगाको सिँगले बनाइएको श्रृंगभेरी अर्थात ‘न्यकू बाजा’ बजाई स्वयम्भू महाचैत्यको ्रदक्षिणा गर्न जाने चलन रहेको छ । खास गरी यही वर्ष दिवंगत भएका आफन्तहरूको मुक्तिका लागि यस्तो सिँग बाजा बजाउने गरिन्छ । यस्ता दृष्यहरु पनि स्वयम्भू परिसरमा देखिएका थिए ।

जनै पूर्णिमा, गाईजात्रा, नाग पञ्चमी, कृष्णाष्टमी, पञ्चदान, गोकर्ण औंशी आदि जस्ता पर्वहरू यही महिनामा मनाइन्छ । आजैका दिनदेखि काठमाडौंका विभिन्न टोलहरूमा दाफा भजन गाउने चलन पनि रहेको पाइन्छ ।