सहकारीको रकम ठग्नेहरुलाई रेड कर्नर जारी गरेर कठघरामा ल्याउँछौं : प्रधानमन्त्री ओली
काठमाडाैं, २९ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको रकम ठग्नेहरुलाई संसारको जुनसुकै कुनामा लुकेपनि रेडकर्नर नोटिस जारी गरेर पक्राउ गर्ने बताउनुभएकाे छ ।
शनिवार सिंहदरबारमा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा बोल्दै उहाँले सहकारीकाे रकम अपचलन गरेर कोही उम्कन नपाउने बताउँदै उनीहरुको जायजेथाबाट सर्वसाधारणको रकम असुल गरिने बताउनुभएकाे हाे ।
प्रधानमन्त्री ओलीले समितिबाट कसलाई कस्तो खालको कारबाही गर्ने भन्ने सरकारलाई पहिले निर्देशन आएपछि मात्रै सरकार त्यो प्रकृयामा जाने बताउनुभयाे ।
उहाँले नियमभित्र बसेका सहकारी नडुबेको बताउँदै भन्नुभयाे ‘जसले नियम तोडे, स्वार्थ खोजे, अनुचित लाभ लिन खोजेर समस्या भएकाे हो, यस्तो गर्ने अपराध हो, उनीहरुलाई सजाय हुन्छ ।’
प्रधानमन्त्री ओलीले समस्याको समाधान खोज्न सरकार लागिपरेको तर समितिबाट यसको पूर्ण विवरण आएपछि मात्रै अघि बढ्ने बताउनुभयाे । ‘धेरै सहकारी छन् तर थोरैले ठूलो रकम बिगारेर बढी समस्या भयो, सरकार यस्ता बेथितिलाई, ठगीलाई रोक्न ऐन बनाएर कार्यान्वयनमा लैजान सरकार तयार छ, त्यहीअनुसारको सुझाव आवस्’ उहाँले भन्नुभयाे ‘भयानक राष्ट्रिय समस्या बनिसकेको रहेछ, अहिलेको व्यवस्थाबाट कारबाही हुन्छ, लगानीकर्ताको रकम नडुब्नेगरी अघि बढ्नुपर्छ ।
ठग्ने मान्छे उम्कन नपावस् । उनीहरुले ठगेको रकम कहाँ गयो अब खोजी हुनुपर्छ, हुन्छ सरकारले गर्छ ।’ उहाँले ऋण सहकारीमा बढी बेथिति भएको बताउनुभयाे । ‘यो बैंक होइन सहकारी, अब उत्पादनमा जानुपर्यो, एक्लो लगानी सहकारी होइन । रकम यहाँ खातामै नदेखाई अपचलन भयो, यो सहकारीको काम होइन, सहकारीको परिचय पहिले पढ्नुपर्यो ।’
उहाँले समस्यामा आएका सहकारीमा संचालनको प्रकृया नपुगेर पनि यस्तो भएको बताउनुभयाे । ‘सहकारीमा गैरसहकारी तत्व छिरे, बेग्लै उद्देश्यले सहकारीको मर्म विपरीत ठगी बढ्यो, अनेक स्वार्थ भएका व्यक्तिहरु सहकारीमा जोडिँदा यसको अनुचित लाभ लिएको भेटियो ।
समयमै नियम र नियन्त्रण गर्नुपथ्र्यो केही कमजोरी भयो, साना लगानीको सहकारीमा बढी रहेको छ, यसमा राज्यको भूमिका बढी हुनुपर्छ ’ उहाँले भन्नुभयाे –‘बैंकहरुले यसमा रुचि राखेको भए यस्तो समस्या आउने थिएन, सर्वसाधारणलाई अपनत्व भएन, साधारण मान्छेलाई बैंकले विश्वास नगरेका कारण सहकारीको लगानी बढेको हो । सहकारीमा धेरै गरिबी क्षेत्रमा रहेकाहरुको रकम छ, बैंकको उत्तरदायित्व भएन भन्ने सुझाव सरकारले मनन गर्नेछ । ’
प्रधानमन्त्री ओलीले सहकारीबिना अर्थतन्त्र अघि बढ्न नसक्ने तर संचालनको प्रकृया भने फेर्नुपर्ने बताउनुभयाे ।
उहाँले समितिले तयार गरेको प्रतिवेदनप्रति सरकार ढुक्छ रहेको, निष्पक्ष निश्कर्षलाई पालना हुने बताउँदै भन्नुभयाे–‘समितिले सरकारलाई निर्देशन गरोस्, छानविनका क्रममा यस्तो समस्या देखियो, यसरी अगाडि बढोस् भन्ने आवस्, यो कसैको गरिखाने भाँडो बनाउन पाइदैन, बेलगाम छोड्नु हुँदैन । समितिले गरेको सिफारिस र निर्देशनका आधारमा सरकार अघि बढ्छ ।’