करातेमा ऐतिहासिक पदक विजेता एरिका गुरुङ स्वदेश फिर्ता, विमानस्थलमा भब्य स्वागत

काठमाडौँ, ८ असोज । सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्कनुभएको छ ।

चीनको हान्झाउमा आयोजित २०औँ एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएकाे हाे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामालगायत खेलपदाधिकारीले उहाँलाई स्वागत गर्नुभएकाे थियाे ।

एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएन ।

नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरु गर्नुभएकी एरिका पहिलोपटक १९औँ एसियाडमा छनोट हुनुभएको थियो । उक्त प्रतियोगितामा पनि उहाँले रजत पदक हात पार्नुभएको थियो ।