वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक

ताप्लेजुङ, २२ असोज । गीतकार टङ्कबहादुर भट्टराईद्वारा रचित ‘दिलमायाको चिया दोकान’ गीत सार्वजनिक भएको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सो गीतको सार्वजनिक गर्दै ताप्लेजुङको आर्थिक र सांस्कृतिक पर्यटन, व्यवसायको उन्नयनमा गीतले विशेष योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा आफूले कार्यरत रहँदा भोगेका र अवलोकन गरेका विषयलाई गीतमा जीवन्त प्रस्तुत गरिएको गीतकार भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गीतले ताप्लेजुङको सुन्दरता र चियाको पसलजस्तो सानो व्यवसायमा लागेका मानिसलाई सम्मान र प्रेरणा दिन खोजेको छ । स्थानीय सानातिना व्यवसायमा लागेका मानिसको सङ्घर्ष, लगनशीलता र स्थानीय पर्यटनको महत्वलाई गीतमा समेटिएको छ ।”

सो अवसरमा कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका अध्यक्ष कमल भट्टराई, कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की र फुङ्लिङ नगरपालिका उपप्रमुख भीमादेवी ओझालगायतले ताप्लेजुङको पर्यटन र साना व्यवसायीलाई प्रोत्साहन गर्न गीतले सहयोग पुर्याउने विचार व्यक्त गर्नुभयो । उहाँले श्रष्टा भट्टराईले अगामी साहित्यिक यात्रा अनवरत रुपमा लागिरहने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँका अनुसार ‘दिलमायाको चिया दोकान’ले चिया पसलजस्तो सानो व्यवसायलाई सम्मान दिनुका साथै व्यावसायिक अनुशासन, लगनशीलता र इमान्दारिता झल्काउने प्रयास गरेको छ । उहाँले भन्नुभयो, “गीतको निर्माणले ताप्लेजुङमा रहेका पर्यटन र चिया व्यापारजस्ता साना व्यवसायको विकासमा प्रत्यक्ष रूपमा टेवा पुर्याउने उद्देश्य राखेको छ ।