लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीले लिए शपथ

काठमाडाैं, ८ कात्तिक । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले आज प्रदेश प्रमुख समक्ष शपथ लिनुभएकाे छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गर्नुभएकाे तीन मन्त्रीले आज प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ लिनुभएको हो ।
बर्दियाका जन्मजय तिमिल्सीना सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवार वन तथा वातावरणमन्त्री र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिनुभएको छ ।
नवनियुक्त मन्त्री तिमिल्सीना र कलवार नेपाली कांग्रेस तथा अग्रवाल जनता समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य हुनुहुन्छ । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित नेकपा (एमाले)का पाँच, कांग्रेसका पाँच र जसपाका एक गरी मन्त्रीको सङ्ख्या ११ पुगेको छ ।
मुख्यमन्त्री आचार्यले बुधवार प्रदेश मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्नुभएको थियो ।