तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढ्याे

सुनसरी, १२ कात्तिक । तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ । नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्वपूर्ण बाजाको रुपमा लिने गरिन्छ ।

पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजालोप हुँदै गए पनि धरानमा चाडवाडको बेला भएपनि मादलको बिक्री बढ्ने गरेको छ । धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देसी लाइनमा मादल बिक्री गर्दै आउनुभएका यदुनाथ अधिकारी तिहार नजिकिएसँगै मादलको बिक्रि बढेको बताउनुहुन्छ ।

विगत १५ वर्षदेखि मादलसँगै खुकुरीको व्यापार गर्दै आउनुभएका अधिकारीले आफ्नो पसलमा एक हजार पाँच सयदेखि रु पाँच हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मादल कहिले धेरै बिक्री हुने त कहिले बिक्री नै नहुने समस्या छ । तर, तिहारको समयमा राम्रै बिक्री हुन्छ । एकै दिनमा आठ देखि १० वटासम्म बिक्री हुने गरेको छ ।”

उहाँकाअनुसार लक्ष्मी पुजाको दिनदेखि मादल बेच्न भ्याईनभ्याई हुन्छ । हाल उहाँले भोजपुर, धनकुटा साथै पश्चिममा बनाइएका मादलहरु बिक्री गर्दै आउनुभएको छ ।

धरान उपमहानगरपालिका–२ छाता चोकका सुमन चौधरी अरु समयको तुलनामा तिहारमा मादल धेरै बिक्री हुने गरेको बताउनुहुन्छ । विगत २० वर्षदेखि उहाँले मादलसँगै गितारलगायतका बाद्यवादनको व्यापार गर्दै आउनुभएको छ ।

तिहारमा देउसी भैलो खेल्ने सांस्कृतिक टोलीहरूले बढी मादलको खरिद गर्ने गरेको उहाँको भनाइ छ । तिहारमा ३० देखि ४० वटासम्म मादल बिक्री हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अरु समयमा महिनामा २/४ वटा मात्र बिक्री हुने गरेको मादल तिहारको समयमा मात्र रु एक लाख बढीको बिक्री हुने गरेको छ ।”

भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर, बेलटारलगायतका ठाउँमा मादल बिक्री गर्न जाने गरेको बताउँदै उहाँले पसलमा रु तीन हजारदेखि रु आठ हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताउनुभयो ।