बीआरआईमा एमालेसंग कांग्रेसको धारणा फरक छैन : महामन्त्री थापा

काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा नेकपा एमालेसँग समान धारणा रहेको बताउनुभएकाे छ ।

विराटनगरमा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले यसअघि हस्ताक्षर भएका परियोजना यस पटक कार्यान्वयनको चरणमा जाओस् भन्ने चाहना आफूहरूको रहेको बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘हामीलाई अहिले विकासका लागि स्रोत र साधनले पुग्दैन । ठूलो पुँजी चाहिएको छ । मित्र राष्ट्रले अनुदान दिओस् र बहुपक्षीय दातृ निकायबाट सस्तो ऋण लिन चाहन्छौं’ । ‘अमेरिका, चीन, भारत, जापान जस्ता देशबाट अनुदानको अपेक्षा गर्छौं । यो पटक चीन भ्रमणमा पनि हाम्रो अपेक्षा त्यही रहन्छ । नेकपा एमालेको धारणा पनि यो भन्दा फरक छैन ।’

महामन्त्री थापाले भन्नुभयाे, सन् २०१७ पछि नेपालमा थुप्रै सरकार बनिसकेका छन्, ती सबै सरकारहरूले चीनसँग भएको यो सम्झौतालाई निरन्तरता दिँदै आएको छ । कांग्रेस र एमालेको संयुक्त सरकारले पनि यसलाई निरन्तरता दिने काम नै गर्छ ।’

प्रधानमन्त्रीको आसन्न भ्रमणबाट हामीले अपेक्षा गरेको चाहिँ, चीनसँग दर्जनौं सम्झौताहरू भएका छन् । ती समझदारीहरू हामीले अपेक्षा गरे अनुसार कार्यान्वयनमा गएका छैनन् । यसमा हाम्रा पनि कमजोरी छन् । हामीले निरन्तर फलोअप र तयारी गर्न नसक्दा पनि त्यस्तो भएको हो‘ यसपटक हामी नयाँ भन्दा पनि पुराना समझदारीलाई टुंग्याउन चाहन्छौं ।