पशुपतिनाथमा नागमणि, एकमुखे रुद्राक्षलगाएत प्रदर्शन

काठमाडौँ, १४ मङ्सिर । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र औँसीका दिन पशुपतिनाथमा प्रदर्शन गरिने नाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष आज बिहान देखाइएको छ ।

गत एक वर्षसम्म पशुपतिनाथ मन्दिरको माथिल्लो तलामा यी सामग्री सुरक्षित राखिएको भनी आज देखाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

मार्ग शीर्ष कृष्ण औँसीका अवसरमा यही मङ्सिर १६ गते बिहान पनि अर्को वर्षका लागि सुरक्षित राखिँदै छ भनी आममानिसलाई देखाउने परम्पराअनुसार यो देखाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

पशुपति क्षेत्रमा पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष हेर्न हजारौँ भक्तजनको घुइँचो लागेको थियो । काठमाडौँ महानगरपालिका वडा नं ९ बत्तिसपुतलीबाट पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष हेर्न पशुपतिनाथ मन्दिरको पश्चिम मूल ढोकाअघि लाममा बस्नुभएका सुरेश नेपालले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका यस्ता सामग्री हेर्ने रहरले आफू आएको बताउनुभयो । यस्ता सामग्री भावी पुस्ताका लागि पनि सुरक्षित गरिनुपर्ने उहाँको सुझाव छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोषका सुरक्षाकर्मीको सहयोगमा पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष आज बिहान प्रदर्शन गरिएको थियो ।