नेपाल प्रिमियर लिग

चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो

काठमाडौँ, २३ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ ।

प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । यसअघि सुदूरपश्चिमले विराटनगर किङ्ग्स, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा चितवन राइनोजले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउदै एक सय ३१ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जाडे । उनले १९ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै सेफ जेबले ११ बलमा १८ रन जोडे भने विनोद भण्डारीले १०, दिलप्रित बाज्वाले १२ तथा नरेन साउदले १० रन बनाए ।

चितवनका लागि कप्तान कुशल मल्ल, जान निकोल लफ्टी इटन र अमरसिंह राउटेलाले समान दुई विकेट लिए भने रिजन ढकाल र रञ्जित कुमालले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रनको योगफल तयार गरेको थियो ।