स्थानीय भावना र वातावरणीय पक्ष सम्बोधन गर्दै ‘सिनेपा’ स्टुडियो निर्माण अघि बढाइने
काठमाडौँ, मङ्सिर ९ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० र १३ अन्तर्गत जनागालस्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा प्रस्तावित अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो ‘सिनेपा’ निर्माण प्रक्रिया अघि बढाउन पहल गर्नुभएको छ ।
स्टुडियो निर्माणस्थलको निरीक्षण गर्दै उहाँले राष्ट्रिय महत्त्वको परियोजनालाई स्थानीय बासिन्दाको भावना, वातावरणीय प्रभाव र प्राकृतिक सौन्दर्य संरक्षणका पक्षलाई सम्बोधन गरी अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले केही व्यक्ति वा परिवारको असहमतिका कारण राष्ट्रिय महत्त्वका आयोजना अनिश्चितकालसम्म रोक्न नहुने धारणा पनि राख्नुभयो ।
स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा चलचित्र विकास बोर्डका पदाधिकारीसँगको छलफलमा मन्त्री तिमिल्सिनाले विकास आयोजनाबाट कसैलाई अन्याय हुन नहुने उल्लेख गर्दै कानुनी प्रक्रिया, स्थानीय हित र राष्ट्रिय आवश्यकताबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले चलचित्र स्टुडियो निर्माणलाई भौतिक संरचना निर्माणमा मात्र सीमित नराखी स्थानीय रोजगारी, आर्थिक गतिविधि, पर्यटन र चलचित्र क्षेत्रको विकाससँग जोडेर हेर्नुपर्ने बताउनुभयो । स्टुडियो सञ्चालनमा आएपछि चलचित्रकर्मी, कलाकार, प्राविधिक तथा पर्यटकको आवागमन बढ्ने र त्यसबाट होटल, यातायातलगायत स्थानीय व्यवसाय विस्तारमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।
करिब ४२ रोपनी क्षेत्रफलमा निर्माण गर्ने लक्ष्य राखिएको स्टुडियोको प्रारम्भिक डिजाइनअनुसार संरचना निर्माण गर्दा स्थानीयस्तरमा अवरोध देखिएपछि चलचित्र विकास बोर्डले डिजाइन परिवर्तन गर्नुपर्ने वा नपर्ने विषयमा अध्ययन गरिरहेको छ । बोर्डका अनुसार प्रारम्भिक प्राविधिक अध्ययनले निर्माणस्थलमा करिब एक लाख घनमिटर माटो व्यवस्थापन गर्नुपर्ने देखाएको छ ।
निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले ठूलो परिमाणमा माटो कटान गर्दा वातावरणीय प्रभाव पर्नुका साथै डाँडाको प्राकृतिक स्वरूप र सौन्दर्यमा असर पुग्न सक्ने भएकाले वैकल्पिक डिजाइन र निर्माणस्थलबारे पुनः अध्ययन गर्न निर्देशन दिनुभयो । सम्भव भएसम्म प्राकृतिक बनावट संरक्षण गर्दै निर्माण गर्न सकिने विकल्प खोज्नुपर्ने उहाँको भनाइ थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले स्टुडियो निर्माणका लागि हालसम्म भएका कामको प्रगति र कार्यान्वयनमा देखिएका चुनौतीबारे मन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
आर्थिक वर्ष २०८०/८१ को बजेटमा बनेपामा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माण गर्ने कार्यक्रम समावेश गरिएको थियो । सोही योजनाअन्तर्गत २०८२ वैशाखमा शिलान्यास गरिएको ‘सिनेपा’मा इन्डोर र आउटडोर दुवै प्रकारका संरचना निर्माण गर्ने योजना छ ।
प्रस्तावित योजनाअनुसार इन्डोर क्षेत्रमा अस्पताल, प्रहरीचौकी, कारागार तथा ठूला भवनका भित्री दृश्य छायाङ्कन गर्न मिल्ने स्थायी र पोर्टेबल सेट निर्माण गरिनेछ । आउटडोर क्षेत्रमा नेपाली चलचित्रको इतिहास अध्ययनका लागि चलचित्र सङ्ग्रहालय, पुस्तकालय, पटकथा लेखन तथा निर्देशन कक्ष र चलचित्रसम्बन्धी गोष्ठी, सेमिनार एवं क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सभाहल निर्माण गर्ने लक्ष्य छ ।
मन्त्री तिमिल्सिनाले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी एक वर्षभित्र स्टुडियो निर्माणको काम सुरु गर्ने लक्ष्यसहित सरकार अघि बढेको जानकारी दिनुभयो । यस विषयमा आफूले संसद्मा समेत प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै उहाँले परियोजना कार्यान्वयनका लागि सरकार र चलचित्र विकास बोर्डसँगै स्थानीय सरकार, समुदाय तथा अन्य सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनुभयो ।
निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधिले परियोजना निर्माणमा स्थानीय सरकारको सहयोग रहेको र पहुँचमार्ग निर्माणलगायतका काममा सहजीकरण भइरहेको जानकारी गराएका थिए । उनीहरूले सामुदायिक वन उपभोक्ता समिति र स्थानीय बासिन्दासँग समन्वय गरेर आयोजना अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
मन्त्री तिमिल्सिनाले स्थानीयका जायज माग र सरोकार सम्बोधन गर्न सरकार तयार रहेको बताउँदै आयोजनाबाट स्थानीय समुदायलाई दीर्घकालीन लाभ पुग्ने गरी संवाद र साझा समझदारी कायम गर्न आग्रह गर्नुभयो ।
