महाअभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडाैं, १६ पुस । दक्षिण कोरियाली अदालतले महाअभियोग लगाइएका निलम्बित राष्ट्रपति युन सुक येओलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार यो पक्राउ पुर्जी देशमा सैन्य शासन लागू गर्ने उहाँको छोटो प्रयासको सम्बन्धमा जारी गरिएको हो ।

युनले यस महिना नागरिक शासनलाई केही समयका लागि निलम्बन गर्नुभयो । यसले दक्षिण कोरियालाई दशकौँको सबैभन्दा खराब राजनीतिक सङ्कटमा धकेलेको थियो ।

उहाँको उक्त कार्यलाई लिएर संसद्ले उहाँलाई राष्ट्रपतिको जिम्मेवारीबाट हटायो तर महाभियोग पुष्टि गर्ने कि नगर्ने संवैधानिक अदालतको फैसला विचाराधीन छ ।

“संयुक्त अनुसन्धान मुख्यालयले अनुरोध गरेबमोजिम राष्ट्रपति युन सुक येओलका लागि पक्राउ पुर्जी र खानतलासी पुर्जी आज बिहान जारी गरिएको छ”, संयुक्त अनुसन्धान मुख्यालयले एक विज्ञप्तिमा भनेको छ ।

दक्षिणपन्थी नेता युनले विद्रोहको आपराधिक आरोपको सामना गरिरहनुभएको छ । यसको परिणाम आजीवन कारावास वा मृत्युदण्डसमेत हुनसक्छ ।

निलम्बित राष्ट्रपति तेस्रो पटक सोधपुछका लागि उपस्थित हुन असफल भएपछि अनुसन्धानकर्ताहरूले सोमबार पक्राउ पुर्जीको माग गरेका थिए ।

युनका वकिलले अनुसन्धानकर्ताहरूसँग राष्ट्रपतिको जाँच गर्ने अधिकार नभएको बताउँदै महाअभियोग लगाइएका राष्ट्रपतिको पक्राउ पुर्जीलाई ‘गैरकानूनी र अमान्य’ भनेका छन् ।

“अनुसन्धान गर्ने अधिकार नभएको निकायको अनुरोधमा जारी गरिएको पक्राउ पुर्जी र खानतलासी तथा जफत पुर्जी गैरकानूनी र अमान्य छन्”, वकिल युन काब–केउनले एएफपीलाई पठाएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *