भूकम्पबाट चाइनामा ३२ को मृत्यु, ३८ घाइते
काठमाडौं, २३ पुस । चाइना डेलीका अनुसार सिजाङ स्वायत्त क्षेत्रको सिगात्सेस्थित डिङ्ग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म ३२ जनाको मृत्यु भएको छ भने ३८ घाइते भएका छन् । चाइनिज समय अनुसार बिहान ९ बजेर ५ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु २८.५ डिग्री उत्तरी अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा निगरानी गरिएको थियो। भूकम्प १० किलोमिटर गहिराइमा यो भूकम्प गएको सीईएनसीले जारी गरेको प्रतिवेदनमा उल्लेख रहेको पनि उस्ले छापेको छ ।
भूकम्पपछि डिङ्ग्रीको चाङ्सुओ टाउनसिपमा अवस्थित टोंगलाई गाउँमा घर भत्किएका छन् । केन्द्रको र्यापिड रिपोर्ट क्याटलग अनुसार केन्द्रविन्दुको २०० किलोमिटर भित्र विगत पाँच वर्षमा ३ वा सोभन्दा बढीको २९ वटा भूकम्प गएको थियो । आजको भूकम्प सबैभन्दा ठूलो हो । भूकम्पको केन्द्रबिन्दु वरपर ५ किलोमिटरको परिधिभित्र रहेका सातवटा गाउँ रहेको पनि समाचारमा उल्लेख छ । भूकम्पको केन्द्रबिन्दु डिङ्ग्ये काउन्टीबाट ३४ किलोमिटर, डिङ्ग्री काउन्टीबाट ३६ किलोमिटर, सिगात्से सहरबाट १६४ किलोमिटर र क्षेत्रीय राजधानी ल्हासाबाट ३७९ किलोमिटर टाढा रहेको थियो ।