कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर जिविकाेपार्जन गर्दै राजेन्द्र

सर्लाही, २९ पुस । विद्युतीय धरापमा परेर खुट्टा गुमाएका सर्लाहीको हरिवन नगरपालिका–५ किङरिङ टोलका २२ वर्षीय राजेन्द्र महतोले विद्युतीय तीन पाङग्रे सवारी साधन (अटोरिक्सा ) चलाएर जीवनमा पुन खुसी फर्काउनुभएकाे छ ।

विसं २०७७ वैशाख १८ गते दुर्घटनामा परेर बायाँ खुट्टा गुमाएपछि उहाँलाई अब बाँकी जीवन सकियो भन्ने चिन्ता लागेको थियो । तर, त्यही दुर्घटनापछि जीवनमा एकपछि अर्को गर्दै खुसी आएको उहाँले सुनाउनुभयो ।

चार वर्ष पहिला विद्युतीय दुर्घटनामा पर्नुभएका राजेन्द्रको बायाँ खुट्टा घुँडामाथिसम्म काटिएको छ । केही समयसम्म वैशाखीको सहारा लिनुभएका उहाँ अहिले कृत्रिम खुट्टाको सहारामा आफ्नो दैनिकी चलाइ रहनुभएको छ । कृत्रिम खुट्टाको सहाराले उहाँलाई सामान्य काम गर्न र हिँड्डुुल गर्न सहज मात्र भएको छैन् । विगत दुई वर्षदेखि अटोरिक्सा चलाएर मनग्य कमाइ गरिरहनुभएको छ ।

‘‘दुर्घटनामा खुट्टा गुमाएपछि आफ्नै जीवन अभिसाप हुने भयो भन्ने लागेको थियो’’, उहाँले भन्नुभयो , ‘‘परिवारको सहारा र वडाले दिएको अटोरिक्सा फेरि परिवारको मेरुदण्ड बनेको छ । अटोरिक्सा चलाउन सुरु गरेको आउने फागुनमा दुई वर्ष पुग्दै छ । यसको कमाइबाटै ठूलो प्रगति गरेको उहाँले जानकारी दिनुभयो ।’’ अटोरिक्सा चलाएर कमाएको रु १६ लाखले एउटा पक्की घर बनाएको उहाँले बताउनुभयो ।

एउटा अटोरिक्साले मात्र नभ्याउने भएपछि पालैपालो चार्ज गरेर चलाउन भनेर तीन महिना पहिला मात्र उहाँले अर्को मयुरी गन्नुभएको छ । अटोरिक्साकै कमाइबाट रु चार लाख ५० हजार खर्च गरेर नयाँ मयुरी थपेको उहाँले जानकारी दिनुभयो । कृत्रिम खुट्टा हाल्न बेचेको खेतकै सिमानामा एक कठ्ठा घडेरी जोडिसकेको राजेन्द्रको भनाइ छ । बिहानैदेखि साँझसम्म आवश्यक पर्दा रात दिन नभनी अटोरिक्सा चलाउने उहाँले दैनिक रु सात ७ हजारसम्म कमाएको बताउनुभयो ।

थोरै कमाइ हुँदा दैनिक दुई हजार पाँच सयसम्म आम्दानी गरेको उहाँ बताउनुहुन्छ । खर्च कटाएर कम्तीमा महिनाको ६० हजारको दरले घरकै खाएर परिवारसँगै बसेर वर्षमा सात लाख बढी कमाइ रहेको उहाँले सुनाउनुभयो । ‘‘दिनको रु सयको बिजुली खर्च हुन्छ ।’’ उहाँले भन्नुभयो, ‘‘आजसम्म कमाइ भएन भन्ने दिन आएको छैन ।’’, बजारको दिन त भ्याइनभ्याई हुने गरेको उहाँको अनुभव छ ।

आफूले अटोरिक्सा चलाउन सुरु गरे यता गाउँमा पाँच वटा मयुरी थपिएको उहाँले बताउनुहुन्छ । निकै न्यून आयस्तर भएका राजेन्द्रको उपचारमा २२ लाखभन्दा धेरै खर्च लागेको बुवा सन्तलाल महतोले जानकारी दिनुभयो ।

उहाँ जिप, कार चलाउन अनुभवी र अनुमतिपत्र प्राप्त चालक हुनुहुन्छ । दुर्घटनापछि ठूलो सवारी चलाउ छाडेको बताउनुभयो । मयुरीको सबै नियन्त्रण हातमा हुने र दायाँ खुट्टा राम्रो भएकाले काम गर्न कुनै समस्या नभएको उहाँ बताउनुहुन्छ । त्यति हुँदाहुँदै यातायात व्यवस्था विभागले आफूहरू जस्ताको लागि चालक अनुमतिपत्र दिनेसम्बन्धी व्यवस्था नभएको भन्दै फर्काएको उहाँको दुखेसो छ ।

यसरी शारीरिक रुपमा सामान्य क्षति पुगेका अपाङ्गता भएकाहरू सयौँले क्षमता र हिम्मत हुँदाहुँदै श्रम गरेर खान नपाएको उहाँको भनाई थियो ।