काठमाडौंमा ४६ हजार ९८५ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप दिइने
काठमाडौं,१५ माघ । काठमाडौं महानगरपालिकाले ४६ हजार ९८५ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने भएको छ।
महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई यो खोप दिने लक्ष्य राखेको छ।
महानगरपालिकाको स्वास्थ्य विभागले गरेको सर्वेक्षण अनुसार ७९ वटा सामुदायिक र ४२० वटा संस्थागत गरी ४९९ वटा विद्यालयमा ४२ हजार ५७ जना छात्रा अध्ययनरत छन्। साथै, विद्यालय बाहिर ४ हजार ९२८ जना किशोरीहरु रहेको विवरणमा उल्लेख छ।
आज बसेको खोप समन्वय समितिको बैठकमा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दीर्घ रोग रोकथामका लागि महानगरपालिकाले संचालन गरेका कार्यक्रममा सबैको सहयोग रहने अपेक्षा राख्नुभयो। उहाँले शहरी जीवनशैलीका कारण नसर्ने रोगको जोखिम बढेकोले यसलाई समयमै कम गर्नुपर्ने बताउनुभयो।
जनस्वास्थ्य कार्यालय काठमाडौंका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले प्रति १ लाख महिलामा ४ भन्दा कममा क्यान्सर सीमित गर्ने लक्ष्य अनुरुप खोप सेवा संचालन गरिएको जानकारी दिनुभयो। साथै, विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको र नेपालको औषधि व्यवस्था विभागमा दर्ता भएको यो खोप सुरक्षित रहेको बताउनुभयो।
पाठेघरको मुखको क्यान्सरबाट बच्न ३ वटा उपायहरु छन्। पहिलो उपाय १० देखि १४ वर्षसम्मका किशोरीहरुले एचपिभी खोप लगाउनु हो। दोस्रो उपाय ३० वर्षभन्दा माथिका हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गराउनु हो। तेस्रो उपायमा पाठेघरको मुखको क्यान्सर पहिचान भएका महिलाले उपचार गराउनु हो। बाल कल्याण महाशाखाका निर्देशक डा. विवेकलाल कर्णले नेपाल सरकारले यी तीनवटै चरणमा ९० प्रतिशत कभरेज गर्ने लक्ष्य राखेको र यसमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहने बताउनुभयो।
स्वास्थ्य विभागका प्रमुख दिपककुमार के.सी.का अनुसार खोप अभियान माघ २२ गते र २५ गते गरी दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा वडा नं. १, २, ५, ८, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र ३० मा खोप कार्यक्रम सुरु हुनेछ। दोस्रो चरणमा वडा नं. ३, ४, ६, ७, ९, १०, १३, १४, १५, १६, २६, २९, ३१ र ३२ मा माघ २५ गतेदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ।
वडा क्लिनिक र स्वास्थ्य प्रवर्धन केन्द्रले विद्यालयहरुसँग समन्वय गरी खोप केन्द्र निर्धारण गर्नेछन्। जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रमका फोकल पर्सन मैयाँ सैजुका अनुसार विद्यालयमा खोप लिन छुटेका र विद्यालयभन्दा बाहिरका किशोरीहरुका लागि कार्यक्रमको अन्तिम दिन स्वास्थ्य प्रवर्धन केन्द्रबाट खोप दिइनेछ।