भारतको कुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १० जनाको मृत्यु

काठमाडाैं, १६ माघ । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।

मंगलबार राति संगमस्थानमा अचानक मच्चिएको भागदौडमा परी धेरै व्यक्ति भिडमा कुल्चिएका छन्।

विभिन्न भारतीय सञ्चारमाध्यमका अनुसार मृतकको संख्या १० देखि १५ जनासम्म रहेको छ। दैनिक भाष्करले १४ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएको जनाएको छ।

स्वरुपरानी अस्पतालमा १४ शव पोष्टमार्टमका लागि ल्याइएको उल्लेख गरिएको छ। तर सरकारी निकायबाट भने औपचारिक पुष्टि भएको छैन।

घटनापछि अमृत स्नान केही समयका लागि स्थगित गरिएको छ। गत जनवरी १३ देखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ। मौनी अमावस्याको दिन १० करोडभन्दा बढी श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग घटनाबारे जानकारी लिएका छन्। मुख्यमन्त्री आदित्यनाथले श्रद्धालुहरूलाई जहाँ छन् त्यहीँ स्नान गर्न र अफवाहमा नलाग्न आग्रह गरेका छन्।