जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
सिन्धुपाल्चोक, १९ माघ । सिन्धुपाल्चोकमा भएकाे जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौर ले जितेको छ ।
सिन्धु योङ स्टार युवा क्लबको आयोजना भएको जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि दुवाचौरले पाएकाे हाे ।
शुक्रबार भएकाे फाइनल खेलमा आयोजक सिन्धु योङ स्टारलाई २–० को सेटमा पराजित गर्दै मेलम्ची–७ ले उपाधिसहित एक लाख नगद शिल्ड, मेडल र ट्रफी प्राप्त गरेको छ । दोस्रो भएको आयोजकले ६५ हजारमा चित्त बुझाएको छ ।
त्यस्तै जुगल गाउँपालिकालाई पराजित गर्दै सृजनशिल युवा क्लब मेलम्ची–७ ले तेस्रो स्थानसहित नगद ३५ हजार र शिल्ड मेडल प्राप्त गरेको आयोजक क्लबका सुनबहादुर घलेले जानकारी दिनुभयो ।
बिजेतालाई प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, वडा अध्यक्ष किरणदिप खडकालगायतले पुरस्कार प्रदान गर्नुभयो । जनता माध्यमिक विद्यालय मेलम्ची–९को खेलकुद मैदानमा प्रतियोगिता आयोजना गरिएको थियो ।