पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु

काठमाडौं, २८ माघ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ। महाशिवरात्रिको तयारी स्वरूप पशुपति क्षेत्रमा सरसफाई गरिएको छ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाको नेतृत्वमा भएको सरसफाईमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषका कर्मचारी, स्थानीय र भक्तजनहरूको सहभागिता रहेको थियो। महाशिवरात्रिमा पशुपतिलाई आकर्षक रूपमा सजाउन रङरोगन गरिने कोषका सदस्य सचिव थापाले जानकारी दिनुभयो।

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा विभिन्न देवी-देवताका आकर्षक भित्ते चित्रहरू पनि बनाइने भएको छ। त्यसको काम पनि सुरु भएको कोषले जनाएको छ। पशुपति क्षेत्रमा अहिले महाशिवरात्रिको पूर्वतयारीका लागि काम भइरहेको छ।

यस वर्ष भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा आएका धेरै साधु सन्तहरू पनि आउन सक्ने अनुमान गरेर सोही अनुसारको तयारी थालिएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर भण्डारीले बताउनुभयो। महाशिवरात्रिमा पशुपतिनाथ आउने साधु सन्तहरूको संख्या प्रत्येक वर्ष बढ्ने गरेको छ। यस वर्ष महाकुम्भकै कारण पनि साधु सन्तको संख्या बढ्ने अनुमान गरिएको छ।

महाशिवरात्रिको तयारीका लागि सोमबार वा मंगलबार कोष सञ्चालक परिषद्को बैठक बसी अन्य तयारीका काम पनि अघि बढाइने भएको छ। प्रत्येक वर्ष महाशिवरात्रिका दिन फागुन कृष्ण त्रयोदशीमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन पशुपति क्षेत्रमा आउने गर्छन्। यस वर्ष फागुन १४ गते बुधबार महाशिवरात्रि पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *