नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

काठमाडौँ, १ फागुन । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नसर्ने रोगविरुद्ध रोकथामका लागि मन्त्रालयले सुरु गरेको निःशुल्क ‘स्क्रिनिङ’ अभियानलाई सफल पार्न सबैलाई आग्रह गरेका छन्।

आज एक सन्देश जारी गर्दै उहाँले नसर्ने रोगका कारण देशमा हुने मृत्युको ठूलो हिस्सा रहेको र यसलाई न्यूनीकरण गर्न यो अभियान थालिएको बताउनुभयाे ।

उहाँले स्थानीय तहको सहभागितामा स्वास्थ्य प्रवर्द्धन, रोग प्रतिरोधात्मक क्षमता विकास र उपचारात्मक सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयाे। उपचार सेवालाई व्यवस्थित गरेसँगै रोग लाग्नै नदिने योजना भएकाे उहाँको भनाइ छ।

मन्त्री पौडेलले स्वास्थ्य संस्थामा सेवाको गुणस्तर बढाउन प्रयास गरिरहेको र नागरिकको आधारभूत स्वास्थ्य परीक्षण तथा सचेतनाका माध्यमबाट रोग लाग्नै नदिने बताउनुभयाे।राेग लागिहालेको खण्डमा समयमै उपचार गरेर नागरिक र राज्यको धन जोगाउने उहाँको योजना छ।

अभियानमा ३० वर्षभन्दा माथिका नागरिकलाई स्थानीय स्वास्थ्य संस्थामा मधुमेह, उच्च रक्तचाप, मिर्गौला रोग, उचाई र तौलको जाँच गरिनेछ। मन्त्रालयले यो अभियानलाई हरेक वर्ष निरन्तरता दिने जनाएको छ। मन्त्री पौडेलले नसर्ने रोगको भार कम गर्न र स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउन सबैलाई हातेमालो गर्न आग्रह गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *