महानगरपालिकाको प्रदूषण परीक्षणमा ५४ प्रतिशत सवारीसाधन फेल

काठमाडाैं, २ फागुन । काठमाडौं महानगरपालिकाले गरेको प्रदूषण परीक्षणमा आधाभन्दा बढी सवारीसाधन मापदण्ड विपरीत भेटिएका छन्।

महानगरपालिकाले पुस २९ गतेदेखि सञ्चालन गरेको सवारीसाधनको प्रदूषण जाँचमा ९४५ मध्ये ५१५ वटा सवारीसाधन तोकिएको मापदण्डभन्दा बाहिर रहेको पाइएको हो।

महानगरपालिका वातावरण विभागका अनुसार परीक्षण गरिएका २४९ पेट्रोलबाट चल्ने सवारीसाधनमध्ये ४४ वटा र ६९६ डिजेलबाट चल्ने सवारीसाधनमध्ये ४७१ वटाले प्रदूषणको मापदण्ड पूरा गरेका छैनन्।

वातावरण विभाग प्रमुख सरिता राईले महानगरपालिकाले वातावरण सुधार गरी शहरी स्वच्छता कायम गर्ने उद्देश्यले ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’ र ‘फोहरमैला सङ्कलन तथा ढुवानी कार्यविधि, २०८१’ जारी गरेको जानकारी दिइन्। उनले यी कानुन कार्यान्वयन गर्दै शहरमा गुड्ने सवारीसाधनको प्रदूषण परीक्षणलाई तीव्रता दिइएको बताइन्।

‘प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’ अनुसार पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको हकमा कार्बन मोनोक्साइड र धुवाँको घनत्वको सीमा तोकिएको छ। सवारीसाधनको उत्पादन वर्ष अनुसार फरक-फरक मापदण्ड निर्धारण गरिएको छ।

हालसम्म ठमेल, मैतीदेवी, चावहिल, खुसिबु, बालाजु, रातोपुल, कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामङ्गल, पानीपोखरी र जमल क्षेत्रमा चल्ने सवारीसाधनको परीक्षण गरिएको छ। मापदण्ड विपरीत भेटिएका सवारीसाधनमा सार्वजनिक बस, स्कूल बस, सरकारी बुलेरो, र सामान ढुवानी गर्ने ट्रकहरू रहेका छन्।