प्रकृति संरक्षणमा सेनाको योगदान: बाघ र गैंडाको संख्या दोब्बर बनाउन महत्वपूर्ण भूमिका
काठमाडौं, ११ फागुन । नेपाली सेनाले प्रकृति संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको छ। विगत १० वर्षमा सेनाले १६ लाख १८ हजारभन्दा बढी बिरुवा रोपेको छ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र सेनाको सहकार्यमा आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म यो उपलब्धि हासिल भएको हो। सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो।
राष्ट्रिय पुँजी र अर्थतन्त्रको विकासमा टेवा पुर्याउन प्रकृति संरक्षण र पर्यटन उद्योगको प्रवर्द्धनलाई सेनाले उच्च प्राथमिकता दिएको छ। यसै क्रममा चुरे क्षेत्रमा रहेका २० वटा तालतलैयाको संरक्षण तथा पुनर्निर्माण गरिएको छ।
युद्धकार्य निर्देशक रवीन्द्र खत्रीले दिएको जानकारी अनुसार, १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, एउटा सिकार आरक्ष र चुरे क्षेत्रको सुरक्षाका लागि नेपाली सेनाका आठ गण, दुई वटा वन तथा पर्यावरण सुरक्षा गण र सातवटा अनाश्रित गुल्म गरी कुल ९ हजार ४६ जना जनशक्ति परिचालित छन्।
चार दशकदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षामा सेनाले जिम्मेवारी लिएपछि लोपोन्मुख वन्यजन्तुको संख्यामा उल्लेख्य वृद्धि भएको छ। उदाहरणका लागि, सन् २००९ मा नेपालमा बाघको संख्या १ सय २१ थियो, जुन अहिले बढेर ३ सय ५५ पुगेको छ। त्यसैगरी, सन् २००५ मा ४ सयको हाराहारीमा रहेको एकसिङ्गे गैंडाको संख्या अहिले ७ सय ५२ भन्दा बढी पुगेको छ।