साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड’
माेरङ, १२ फागुन । साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ प्रदान गरिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार एक कार्यक्रममा उक्त सम्मान साहित्यकार घिमिरेलाई अर्पण गरेका हुन् ।
शारीरिक अवस्थाका कारण साहित्यकार घिमिरे कार्यक्रममा उपस्थित हुन नसकेपछि शिक्षासेवी साहित्यकार लेखनाथ घिमिरेले सो सम्मान ग्रहण गरेका थिए ।
साहित्यकार घिमिरेको घरमै पुगेर उक्त अवार्ड झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईंमार्फत हस्तान्तरण गरिएको छ । प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड’ आयोजना गरिएको र १३ विधाका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको हाे।
मानसिक रूपमा सक्षम तथा शारीरिक रूपमा अशक्त साहित्यकार झमक घिमिरेको जन्म २०३७ असार २१ गते धनकुटाको कचिडेमा भएको थियो । गरिब परिवारमा अशक्तका रूपमा जन्मिएकी उनको बाल्यकाल कष्टकर बितेको थियो । साहित्यले नै उनलाई सफलताको बाटोमा डोर्याएको हो ।
‘जीवन काँडा कि फूल’ कृति मार्फत २०६७ सालमा घिमिरेले मदन पुरस्कार प्राप्त गरेकी थिइन् । किशोर उमेरमै साहित्य लेखनमा सक्रिय उनले २०५५ सालमा पहिलो कृति ‘सङ्कल्प’ कविता सङ्ग्रह प्रकाशित गरेकी थिइन् । त्यससँगै ‘आफ्नै चिता अग्नि शिखातिर’ २०५७, ‘मान्छेभित्रका योद्धा’–२०५७ र ‘नौलो प्रतिबिम्ब’–२०६५ कविता सङ्ग्रह प्रकाशित छन् । उनका एउटा क्वाँटी (विभिन्न विधा) सङ्ग्रह, (अवसान पछिको आगमन–२०५७), एउटा लेख सङ्ग्रह (सम्झनाका बाछिटा–२०५७), एउटा कथा सङ्ग्रह (पर्दा, समय र मान्छे–२०६२) र एउटा निबन्ध सङ्ग्रह (बेमौसमका आस्था–२०६३) प्रकाशित छन् ।