पशुपतिनाथमा महाशिवरात्रिको चार प्रहरको विशेष पूजा सम्पन्न

काठमाडौं,१५ फागुन । पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा बुधबार राति चार प्रहरको विशेष पूजा सम्पन्न भएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार बेलुकी करिब ६ बजे सुरु भएको पूजा आज बिहान ६ बजेसम्म चलेको थियो।

सदस्य सचिव डा. मिलनकुमार थापाले दिएको जानकारी अनुसार, सांस्कृतिक महत्व बोकेको यस रातमा चार प्रहरमा चार प्रकारका विशेष पूजाका साथै महादीप, अखण्डदीप, लक्ष्यबत्ती बालिएको थियो भने लाखौँ बेलपत्र भगवान शिवलाई अर्पण गरिएको थियो। कैलाशकुट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान प्रस्तुत गरिएको थियो।

धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार महाशिवरात्रिमा प्रहर पूजाको विशेष महत्व छ। पहिलो प्रहरको पूजा बेलुकी ६ बजेदेखि पौने ९ बजेसम्म, दोस्रो प्रहरको पूजा पौने १२ बजेसम्म, तेस्रो प्रहरको पूजा पौने ३ बजेसम्म र चौथो प्रहरको पूजा बिहान ६ बजेसम्म चलेको थियो। प्रत्येक प्रहरमा जप, ध्यान, पूजा, अघ्र्यदान, पाठ र रुद्राभिषेक गरिएको थियो।

प्रहर पूजाको महत्वलाई ध्यानमा राखेर देशभरका विभिन्न शिवालयहरूमा पनि यो पूजा विधिपूर्वक गरिएको थियो। रुद्रमती किनारको रुद्रेश्वर महादेव मन्दिर, गौरीघाटस्थित त्रिगजुर शिवालय, गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर र डोलेश्वर लगायतका मन्दिरहरूमा पनि भक्तजनहरुले प्रहर पूजा गरेका थिए।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर लगायत गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर महादेव र वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको ठूलो भीड लागेको थियो।