जापानमा डढेलो वस्तीमा पस्दा ८० भन्दा बढी घरमा क्षति, सयौं विस्थापित, करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिए
टोकियो, १५ फागुन । उत्तरी जापानमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा ८० भन्दा बढी भवनमा क्षति पुगेको छ।
डढेलोका कारण सयौं बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। जापानको सार्वजनिक प्रसारक एनएचकेले प्रशारण गरेको दृश्यमा इवाते क्षेत्रको ओफुनातोको जङ्गलमा आगोले धेरै घरहरू जलेर ध्वस्त भएको देखाइएको छ। स्थानीय नगरपालिकाका अनुसार नजिकैका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
बिहीबार बिहानसम्म शहरका अधिकारीहरूले आगोबाट कम्तीमा ८४ वटा भवनमा क्षति पुगेको अनुमान गरेका छन्। सेल्फ डिफेन्स फोर्स (सेना) ले आकाशबाट डढेलो निभाउने प्रयास गरिरहेको भए पनि अझै नियन्त्रणमा लिन नसकिएको बताइएको छ।
ओफुनातोका मेयर कियोशी फुचिगामीले बुधबार साँझ भएको आगलागी ‘ठूलो परिमाणको’ भएको बताए। उनले मोनाकोभन्दा तीन गुणा बढी ६०० हेक्टर (१,५०० एकड) जमिन जलेर नष्ट भएको जानकारी दिए। आगलागीको कारण भने खुल्न नसकेको उनले बताए।
सन् २०२३ फेब्रुअरीदेखि अप्रिलको अवधिमा जापानमा करिब एक हजार ३०० वटाभन्दा बढी डढेलो लागेको थियो।
फुचिगामीका अनुसार इवातेमा लागेको पछिल्लो डढेलोको अवस्थामा पश्चिमबाट आएको ‘तीव्र बतास’ले सोही क्षेत्रमा साना डढेलोको शृङ्खला फैलाउन मद्दत गरेको छ।
उद्धार गरिएकी ४५ वर्षीया एक महिलाले एनएचकेसँग आफू कामबाट फर्किँदा आगो आफ्नो घर नजिक आइरहेको बताइन्। “मेरा बच्चाहरू सुरक्षित छन् भन्ने जानकारी पाएपछि मलाई राहत महसुस भयो,” उनले भनिन्।अर्का एक जना ३२ वर्षीय व्यक्तिले एनएचकेसँग भने, “यति तीव्र गतिमा डढेलो लागेको मैले पहिलो पटक देखेको हुँ।”