म्याग्दीकाे गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म ५१ लाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन
म्याग्दी, १५ फागुन । म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म ५१ लाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका अनुसार गत साउनदेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले ५१ लाख २२ हजार एक सय ५३ रुपैयाँ भेटी चढाएका हुन्।
कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले यो वर्ष भक्तजनको आगमनसँगै भेटी पनि बढेको बताए। गत आर्थिक वर्ष २०८०/८१ मा ५८ लाख ४० हजार पाँच सय १० रुपैयाँ भेटी सङ्कलन भएको थियो। यस वर्ष नियमिततर्फ २५ लाख १५ हजार पाँच सय ४७ रुपैयाँ तथा मेलापर्व र विशेष अवसरमा गरी २६ लाख छ हजार छ सय छ रुपैयाँ भेटी सङ्कलन भएको रेग्मीले जानकारी दिए।
कोषका कोषाध्यक्ष कुमारी पुनका अनुसार बुधबारको महाशिवरात्रि पर्वमा चार लाख ३३ हजार सात सय ७४ रुपैयाँ, मङ्सिरको बालाचर्तुदशीमा छ लाख ६१ हजार दुई सय ९४ रुपैयाँ र साउने सोमबारको मेलामा १५ लाख ११ हजार पाँच सय ३८ रुपैयाँ भेटी सङ्कलन भएको थियो।
अन्य शीर्षकमा २१ लाख ४२ हजार पाँच सय २९ रुपैयाँसहित कोषले साउनदेखि हालसम्म ७२ लाख ६४ हजार छ सय ८२ रुपैयाँ आम्दानी गरेको कोषका कार्यालय सचिव राम बानियाँले बताए। मन्दिरको आम्दानी कार्यालय सञ्चालन, पूजा व्यवस्थापन, पुजारी, ज्येष्ठ नागरिक आश्रमका भान्सेको तलब र संस्कृत विद्यालय सञ्चालनमा खर्च हुने गरेको छ।
नियमित पूजाबाट र महायज्ञबाट सङ्कलन भएको भेटी, तीर्थयात्रीद्वारा दिइएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए। धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका छन्।
कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ। हिन्दू धर्मग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने गर्दछ।