“बबरमहलमा छचल्कियो ‘रङका तरङहरु’”
काठमाडौँ, २० फागुन । कलाकार कृति शाह चन्दका कलाकृतिहरुको एकल प्रदर्शनी ‘रङका तरङहरु’ बबरमहलस्थित नेपाल कला परिषद्मा जारी छ।
प्रदर्शनीमा चन्दले मानव जीवनका विविध समय, परिस्थिति र वास्तविकतालाई रङमार्फत क्यानभासमा उतारेकी छन्।
‘समय, परिस्थिति र वास्तविकता’ शीर्षकको प्रदर्शनीमा कलाकार चन्दले दर्शकलाई रङहरुको माध्यमबाट स्वतन्त्रता, प्रेम र आत्मा जस्ता गम्भीर विषयमा सोच्न बाध्य पार्ने प्रयास गरेकी छन्। उहाँका कलामा उज्यालोको खोजी, अटल माया, जनजीवन, सांस्कृतिक धरोहर, शान्ति र न्यायको प्रार्थना जस्ता विषयवस्तुहरू झल्किन्छन्।
फ्लुड आर्टको अमूर्त शैलीमा सिर्जना गरिएका चन्दका कलाकृतिमा रङहरु अनेक दिशामा बगिरहेको देखिन्छ, जहाँ दर्शकले आफ्नो मनोदशाको प्रतिविम्ब भेट्न सक्छन्। स्वतन्त्रता शीर्षकको कलामा इन्द्रेणी रङहरुको घुम्तीमा एक युवती स्वतन्त्र उडान भरिरहेको देखिन्छ। यसले महिलाको जीवनको वास्तविकतालाई उजागर गर्छ।
‘दियो र उज्यालो’ शीर्षकको अर्को कलाले अँध्यारोमा बगिरहेको दियोको उज्यालोको कथा भन्छ, जहाँ एउटा सानो आशाको दियोले अन्धकारलाई पराजित गर्ने महाभारत युद्धको तयारी गरिरहेको छ। ‘फेस्टिभल’ शीर्षकका कला शृङ्खलाले समाजमा व्याप्त खुसीका रङ्गीन सपनाहरुको झल्को दिन्छ।
पारसमणि शीर्षकको कलाले मानिसलाई आफ्नो भित्री शक्ति र सुन्दरताको खोजी गर्नुपर्ने सन्देश दिन्छ।
त्यस्तै, प्रार्थना शीर्षकको कलामा एक बालक विश्व शान्ति र मानव कल्याणको कामना गरिरहेको देखिन्छ। ‘अटुमन लभ’ शीर्षकको कलामा प्रेममा लिप्त एक जोडीलाई देखाइएको छ, जसले प्रेमलाई कुनै पनि मौसमी चक्रले छुँदैन भन्ने सन्देश दिन्छ।
फागुन २२ गतेसम्म चल्ने प्रदर्शनीमा ‘भाइब्रेसन’, ‘रिदमिक फेयर’, ‘मदर अर्थ’, ‘हार्मोनी’ लगायतका कलाकृतिहरू पनि प्रदर्शनमा राखिएका छन्। प्रदर्शनी अवलोकनपछि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले कलाकार चन्दले रङहरुमा सकारात्मक भाव स्पष्ट पारेको बताए।