सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा हजारभन्दा बढीको मृत्यु
एजेँसी,२५ फागुन । सिरियामा सुरक्षा बल र पदच्यूत राष्ट्रपति बशर अल-असदका समर्थकहरूबीचको दुई दिने झडप र प्रतिशोधपूर्ण हत्याहरूमा एक हजारभन्दा बढी मानिस मारिएका छन्।
एक युद्ध अनुगमन समूहले शनिबार यो जानकारी दिएको हो। यो सिरियामा १४ वर्षअघि सुरु भएको द्वन्द्वपछिको सबैभन्दा घातक हिंसाको घटना भएको बताइएको छ।
बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार मारिनेहरूमा ७४५ सर्वसाधारण, १२५ सरकारी सुरक्षा बलका सदस्य र १४८ असदसँग सम्बन्धित लडाकुहरू छन्। लाटाकिया सहर वरपरको ठूलो क्षेत्रमा बिजुली र खानेपानी काटिएको पनि अब्जर्भेटरीले जनाएको छ।
असदलाई सत्ताबाट हटाएपछि विद्रोहीहरूले सत्ता लिएको तीन महिनापछि भएको यो झडपले दमास्कसमा नयाँ सरकारलाई ठूलो चुनौती दिएको छ। सरकारले असदका बलहरूको आक्रमणको जवाफ दिइरहेको र हिंसाका लागि ‘व्यक्तिगत कार्यहरू’ लाई दोष दिएको छ।
सुन्नी र अलावी समुदायबीच प्रतिशोधात्मक हत्याहरू भएका छन्। असदको अल्पसङ्ख्यक अलावी समुदायका सदस्यहरू विरुद्ध सरकारप्रति वफादार सुन्नी मुस्लिम बन्दुकधारीहरूले प्रतिशोधात्मक हत्या सुरु गरेका हुन्। अलावीहरूले दशकौँसम्म असदको समर्थन आधारको ठूलो हिस्सा बनाएका थिए।
स्थानीय बासिन्दाहरूका अनुसार बन्दुकधारीहरूले अलावी समुदायका मानिसहरूलाई सडकमा वा घरको गेटमा गोली हानेका थिए। तटीय क्षेत्रका बासिन्दाहरूले अलावीहरूका धेरै घरहरू लुटिएका र त्यसपछि आगो लगाइएको बताएका छन्। हजारौँ मानिस सुरक्षाका लागि नजिकैको पहाडतर्फ भागेका छन्।
बानियास सहरका बासिन्दाहरूले सडकहरूमा लाशहरू छरिएका र कसैले पनि उनीहरूलाई सङ्कलन गर्न नसकेको बताएका छन्। बन्दुकधारीहरूले बासिन्दाहरूलाई मारिएका आफ्ना छिमेकीको शव हटाउन घन्टौँसम्म रोकेका थिए।
असद सरकारले गरेका अपराधहरूका लागि अलावी अल्पसङ्ख्यकको प्रतिशोधात्मक हत्या भएको स्थानीयको भनाइ छ। बन्दुकधारीहरूमा विदेशी लडाकूहरू र छिमेकी गाउँ र सहरका उग्रवादीहरू रहेको पनि बताइएको छ। बन्दुकधारीहरूले घरहरूमा आगो लगाएको र कारहरू चोरेर घरहरू लुटेको स्थानीयले बताएका छन्।
अब्जर्भेटरीका प्रमुख रामी अब्दुरहमानले प्रतिशोधात्मक हत्याहरू शनिबार बिहान रोकिएको बताएका छन्। “यो सिरियाली द्वन्द्वको दौरानमा भएको सबैभन्दा ठूलो नरसंहारमध्ये एक थियो,” उनले भने। सिरियाको सरकारी समाचार एजेन्सीले सरकारी सेनाले असदका वफादारहरूबाट धेरै क्षेत्रहरू पुनः नियन्त्रण गरेको बताएको छ। अधिकारीहरूले ‘उल्लङ्घनहरू रोक्न र बिस्तारै स्थिरता पुनःस्थापना गर्न’ तटीय क्षेत्रतर्फ जाने सबै सडकहरू बन्द गरेका छन्।
