विपद् व्यवस्थापनको अधिकार प्रदेशमा हस्तान्तरण गरिनेः गृहमन्त्री लेखक

कर्णाली,२५ फागुन । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताउनुभएकाे छ ।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण’ कार्यक्रममा उहाँले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नीति, निर्देशन र स्वामित्वमा रहेको अधिकारलाई हस्तान्तरण गरिएको बताउनुभयाे। अब विपद् पर्दा केन्द्रमा सोध्नु नपर्ने र त्यसको व्यवस्थापन प्रदेश सरकार आफैँले गर्नेगरी अधिकार हस्तान्तरण गरिएको उहाँको भनाइ छ।

सरकारले विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर आपत्कालीन गोदामघर सातवटै प्रदेशमा व्यवस्था गरेको र स्थानीय तह जनताको नजिकको सरकार भएकाले त्यहाँ पनि आपतकालीन गोदामघर निर्माण गर्ने व्यवस्था मिलाउने उहाँले बताउनुभयाे ।

गृहमन्त्री लेखकका अनुसार डोटी, बझाङ, बाजुरा र जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त संरचनाको विवरणअनुसार पुनःनिर्माण र पुनःस्थापनाका कार्यलाई अगाडि बढाइएको छ। उहाँले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत इत्रामस्थित रहेको प्रादेशिक आपतकालीन गोदामघर लिखित रुपमा हस्तान्तरण गर्नुभएकाे छ ।

कार्यक्रममा मुख्यमन्त्री कँडेलले संरचना हस्तान्तरण मात्र नभई त्यससँग सम्बन्धित निकाय र अधिकार पनि हस्तान्तरण हुनुपर्ने बताउनुभयाे। उहाँले आपतकालीन गोदामघर हस्तान्तरण गर्न सात वर्ष लागेको भन्दै हस्तान्तरित संरचनासँगै सङ्घीय सरकारले आवश्यक बजेटको व्यवस्थापनसमेत गर्नुपर्नेमा जोड दिनुभयाे ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख भीष्मकुमार भुसालले मानवीय सहायता सामग्रीको परिचालन गर्ने जिम्मा यसअघि गृह मन्त्रालयलाई दिइएको बताउनुभयाे। मुलुक सङ्घीयतामा गइसकेपछि विपद् व्यवस्थापनमा सबै तहका सरकारको भूमिका तोकिएकाले अब यस्ता खालका सहायता सामग्री छिटोभन्दा छिटो प्रभावितसम्म पुर्याउन व्यवस्थापनको अधिकार विकेन्द्रित गरिएको उहाँले बताउनुभयाे ।