व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै तनहुँका विद्यार्थी
तनहुँ, १ चैत । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउन थालेपछि यहाँका विद्यार्थी आत्मनिर्भर हुन थालेका छन् ।
विद्यालयका विद्यार्थी पछिल्लो समय लोकबाजामा आत्मनिर्भर हुन थालेका हुन् । विद्यालयले पछिल्लो समय विद्यार्थीको क्षमतालाई पहिचान गर्दै लोक संस्कृति संरक्षण गर्ने उद्देश्यले नौमती बाजाको व्यवस्थापन गरेपछि विद्यार्थी उत्साहित भएका छन् ।
कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको सक्रिय सहभागितामा विद्यालयमा तालबेँसी बाजा समूह गठन गरिएको प्रधानाध्यापक धु्रव वाग्लेले जानकारी दिनुभयो । विद्यालयको सांस्कृतिक, शैक्षिक एवं अन्य शुभकार्यमा समेत विद्यार्थीले नौमती बाजा बजाउन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाएपछि विद्यार्थी नौमती बाजा बजाउन सक्ने भएका छन् । विद्यार्थीको प्रतिभा देखेर अभिभावक पनि दङ्ग छन् ।”
कक्षा ७ का विद्यार्थी सुकबहादुर विकको संयोजकत्वमा कक्षा ७ का विद्यार्थी सुसन सुनार, सिजन विक, कृष्ण सुनार, सुदीप बैदास, निशान थापा र कक्षा ८ का विद्यार्थी रूविन बैदास, अर्विन परियार र प्रसुन पौडेल रहेको तालबेँसी बाजा क्लब गठन भएको छ ।
सधैँ किताबमात्र पढ्ने र लेख्ने गर्दा सिर्जनशील हुन नसकेको बताउँदै विद्यालयले बाजा व्यवस्था गरेपछि आफूलाई आवश्यक पर्ने सामान्य कापी, कलम किन्ने खर्च व्यवस्थापनमा सहजता भएको बाजामा संलग्न विद्यार्थी अर्विन परियारले बताउनुभयो ।
आफू सानै उमेरमा सिर्जनशील हुन खोजेको बताउँदै वडामार्फत विद्यालयले बाजाको सेट उपलब्ध गराएपछि व्यावसायिकतर्फ अगाडि बढेको समूहका संयोजक सुकबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा पनि एक न एक काममा व्यस्त रहन्थे । हाल शुक्लागण्डकी नगरपालिका–९ ले बाजाको सेट उपलब्ध गराएपछि मलाई व्यावसायिकतातर्फ अगाडि बढ्ने बाटो खुलेको छ ।” विद्यालयले अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दाबाहेक अन्य सवालमा नियमित बाजाको प्रयोग बढेको विकको भनाइ छ ।
विद्यालयको सेवा क्षेत्रमा दलित बस्ती बढी भएको र यो क्षेत्रको सम्भावना पनि बाजासँग सम्बन्धित लोक संस्कृतिको क्षेत्र फराकिलो भएको हुँदा बाजाको कार्यक्रमलाई प्राथमिकता दिइएको शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयको मागलाई पहिलो प्राथमिकतामा राख्दै विद्यार्थी भाइबहिनीको क्षमतालाई प्रस्फुटन गर्न सहज हुने कार्यक्रमलाई वडा कार्यालयले महत्व दिएको छ । विद्यार्थी भनेका भविष्यका कर्णधार हुन् । हामीले बनाउने योजना दीर्घकालीन हुनुपर्छ ।”
विद्यार्थी पहिचानको क्षेत्रलाई फराकिलो बनाउँदै विद्यार्थीको आफ्नो क्षमता उजागर गराउन विद्यालय प्रतिबद्ध रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद राउतले बताउनुभयो । उहाँले विद्यार्थीको क्षमता पहिचान गर्दै व्यावहारिक शिक्षातर्फ विद्यालय अगाडि बढेको उल्लेख गर्नुभयो ।