विदेश भ्रमणमा रोक लगाउन खोजेपछि एनओसीको विरोध

काठमाडौं, १ चैत ।नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आप्ना पदाधिकारीलाई सरकारले विदेश भ्रमण गर्न विमानस्थलमै रोक लगाएपछि विरोध जनाएको छ ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठलाई कुवेतस्थित अध्यागमन विभागले गत मङगगलबार डिपोर्टको प्रयास गरेको थियो । तर ओलम्पिक कमिटी अफ एसिया (ओसिए)ले पहल लिएर उहाँलाई कुवेतबाट डिपोर्ट हुन रोकेको थियो । यसैगरी पाकिस्तानमा भएको दक्षिण एसियाली खेलकुद (साग) को बैठकमा जान लागेका एनओसी महासचिव राजिव श्रेष्ठलाई पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले रोकेको थियो ।

‘नेपाली नागरिकको हिडडुल गर्न पाउने संवैधानिक अधिकार र मानव अधिकारलाई कुण्ठित गर्ने कार्य भएको छ । कानुनले तोकिएको कसुर विना कुनै मानिसलाई हिडडुल गर्न रोक्ने कार्य निरंकुश र तानाशाही चरित्र र व्यवहार हो, एनओसी अध्यक्ष श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलन गरी रोष प्रकट गरेका छन् ।
अध्यक्ष श्रेष्ठले खेलकुद क्षेत्रमा सरकारको यो प्रत्यक्ष हस्तक्षेप हो र यस्तो व्यवहार गर्ने कार्य नेपालको संविधान र कानुन तथा ओलम्पिक वडापत्र विपरीत छ, भने । श्रेष्ठले यस्ता कार्य तत्काल बन्द गर्न सरकारसँग जोडडार माग गरेका छन् ।

एनओसीले सरकारबाट विमानस्थलको अध्यागमन कार्यालयमा भएका पत्राचारहरू तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।