प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट

पुलिस क्लब चौथो जितसहित शीर्ष स्थानमा

काठमाडौँ, २ चैत । गत विजेता नेपाल पुलिस क्लबले शनिबार प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई १९३ रनले हराएको छ । पुलिस क्लबको यो लगातार चौथो जित हो । पुलिस अंक तालिकाको पहिलो स्थानमा पनि छ । मधेशको ३ खेलमा २ अंक रहेको छ । दस टिम सहभागी प्रतियोगिताको लिग चरणबाट शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

दाङको देउखुरी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २८८ रन बनाएको थियो । मधेशले २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमात्र बनाउनसक्यो ।

मधेशका लागि दिपेश दासले ५१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३१ रन बनाए । पुलिसका ललितनारायण राजवंशीले ९.१ ओभरमा २८ रन खर्चिएर ४ विकेट लिएर मधेशको पालि कमजोर बनाएका हुन् । यसैगरी कुशल भुर्तेलले २ तथा करण केसी, सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

पुलिसको पालिमा कप्तान कप्तान दीपेन्द्रसिंह ऐरी नायक बने । उनले ३६ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रन बनाए । आरिफ शेखले ५४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५५ रनको पाल खेले । यसैगरी दीलिप नाथले ४५, अर्जुन साउदले ४७, शंकर रानाले २७ तथा रशिद खान १४ रन बनाए । मधेशका तेज बलर रुपेश सिंहले ४, विशाल पटेलले ३, कमल गुप्ताले २ तथा रञ्जित कुमारले १ विकेट लिए ।