ट्रम्प-पुटिन वार्ता: युक्रेनमा ३० दिने युद्धविरामको सहमति, युक्रेनको प्रतिक्रिया अनिश्चित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्धलाई लिएर दुई घण्टाभन्दा लामो टेलिफोन वार्ता भएको छ।

ह्वाइट हाउसका अनुसार वार्तामा युक्रेनको ऊर्जा र पूर्वाधारमाथि ३० दिनसम्म आक्रमण रोक्ने सहमति भएको छ। यो सम्झौताले शान्ति स्थापनाको प्रारम्भिक संकेत दिए पनि युक्रेनले यस योजनालाई समर्थन गर्छ कि गर्दैन भन्ने अझै स्पष्ट छैन।

पुटिनले शान्ति वार्ताका लागि युक्रेनलाई दिइने विदेशी सैन्य सहायता पूर्ण रूपमा रोक्नुपर्ने शर्त राखेका छन्। तर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनको प्रस्तावलाई ‘केवल कुरा गर्ने’ प्रयास भएको बताएका छन्। ट्रम्पले रूससँग ‘केही सम्पत्ति बाँडफाँट’को विषयमा छलफल भइरहेको संकेत गरेपछि युरोपेली राष्ट्रहरू चिन्तित भएका छन्।

वार्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा वार्ता ‘महत्वपूर्ण चरणमा पुगेको’ उल्लेख गरेका छन्, तर अझै धेरै विषयहरू टुंग्याउन बाँकी रहेको बताएका छन्। पुटिनले भने आफ्नो सेना युक्रेनी भूभागमा निरन्तर अघि बढिरहेको दाबी गर्दै नेटो सेनालाई कुनै पनि हालतमा युक्रेनमा तैनाथ हुन नदिने अडान दोहोर्याएका छन्।