पुलिसको अपराजित यात्रा कायम, मधेशसँग आर्मी पराजित
काठमाडौँ, ६ चैत । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय व्रिmकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई सात विकेटले हराएको छ । अपराजित पुलिसएको यो छैटौँ जित हो । बुधबारै भएका अन्य खेलमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई तीन विकेट र सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरे ।
रुपन्देहीको सिदार्थनगर क्रिकेट रङ्गशाला पुलिसले पहिले ब्याटिङ गरेको गण्डकीलाई २३.२ ओभरमा ९२ रनमै अलआउट गरेको थियो ।
पुलिसका स्पीनर ललित राजवंशीले पाँच र तेज बलर गुल्सन झाले चार विकेट लिए । गुलसन म्यान अफ दी म्याच बने । गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४८ रन बनाए ।
पुलिसले सामान्य लक्ष्य १६ ओभरमा तीन विकेटको क्षतिमा ९४ रन बनाएर हासिल गर्यो । कप्तान दीपेन्द्र सिहंले २३ बलमा ५४ रन बनाएपछि पुलिसको जित अझ सहज बन्यो । गण्डकीका विपीन खत्री र सुवास भण्डारीले समान एक विकेट लिए ।
दाङका लमहीस्थित देउखुरी क्रिकेट रङगशालामा आर्मीले दिएको २१८ रनको लक्ष्य मधेशले ४८ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको हो । मधेशका लागि कप्तान अनिल साहले ४५ रन, रुपेश सिंहले २० बलमा अविजित ३८ रन तथा हरिशङ्कर साह र पवन सर्राफले समान ३७ रन बनाए । आर्मीका नरेन साउदले तीन, सोमपाल कामी र बसिर अहमदले समान दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा सात विकेट गुमाएर २१७ रन बनाएको थियो । आर्मीका भीम सार्कीले सर्वाधिक ८९ रन बनाए । सन्तोष कार्कीले ३३ र कुशल मल्लले अविजित २४ रनको पालि खेले । मधेशका लागि कमल गुप्ता, रुपेश र पवनले दुई–दुई विकेट लिए । अलराउन्ड प्रदर्शन गर्ने रुपेश म्यान अफ दि म्याच बने ।
भैरहवाको एक्स्ट्राटेक ओभल मैदानमा लुम्बिनीले दिएको सामान्य ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा पाँच विकेटको क्षतिमा हासिल गर्यो । सुदूरपश्चिमका लागि किरण ठगुन्ना ४३ र कप्तान नारायण जोशीले अविजित २५ रन बनाए । लुम्बिनीका रमेश कुर्मीले दुई, निर्मल गुरुङ, अजय चौहान र बिप्रशन केसीले एक÷एक विकेट लिए । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ४४.१ ओभरमा अलआउट हुँदै ११६ रन बनाएको थियो । कप्तान देव खनालले ४१ र प्रज्वल थापाले ३० रनको पालि खेले । सुदूरपश्चिका हेमन्त धामीले चार, सौर्य श्रेष्ठ, शेर मल्ल र मिलन बोहराले समान दुई विकेट लिएका थिए ।