सुदूरपश्चिम पृतनाबाट भूतपूर्व सैनिक सम्मेलनको थालनी
धनगढी, ७ चैत । नेपाली सेनाले ‘भूतपूर्व सैनिक सम्मेलनको प्रणः पुनर्मिलन, हिताधिकरीको कल्याण र कोषको दिगोपन’ भन्ने नाराका साथ यस वर्षको भूतपूर्व सैनिक सम्मेलन सुदूरपश्चिम पृतना मुख्यालय, कैलालीबाट सुरु गरेको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले आज गोदावरी नगरपालिकास्थित सुदूरपश्चिम पृतनाको तेघरी ब्यारेकमा आयोजित एक विशेष समारोहमा सम्मेलनको उद्घाटन गरे। प्रधानसेनापति भएपछि सिग्देलले पहिलो पटक सुदूरपश्चिम पृतनाबाट भूपू सैनिक सम्मेलनको थालनी गरेका हुन्।
सम्मेलनमा कैलाली र कञ्चनपुरका २ हजार ९ सय २५ भूतपूर्व सैनिकको सहभागिता रहेको छ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी गौरवकुमार केसीका अनुसार आजै सुदूरपश्चिम पृतनाअन्तर्गत डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, डडेलधुरा र दार्चुलामा पनि एकसाथ सम्मेलन सुरु भएको छ। सुदूरपश्चिमका सात पहाडी जिल्लामा भएको सम्मेलनमा ९ सय ८ जना भूतपूर्व सैनिक सहभागी छन्।
उद्घाटन समारोहमा भूतपूर्व सैनिकबाट मार्चपास, एकल महिलाको प्लेकार्डसहितको मार्चपास, सुदूरपश्चिमको स्थानीय कला संस्कृति झल्कने झाँकी तथा नाच र सैनिक शारीरिक क्षमता प्रदर्शन गरिएको थियो। सैनिक ब्याण्डले पनि आफ्नो कला प्रस्तुत गरेको थियो।
सम्मेलनका क्रममा ज्येष्ठ भूतपूर्व सैनिक र एकल महिलालाई सम्मान गरिएको थियो। ह्विलचियर/बैसाखी वितरण, लघु उद्यम व्यवसायीलाई प्रशंसापत्र तथा पुरस्कार प्रदान, नेपाली सेनामा चार जनाभन्दा बढी सन्तान पठाउने अभिभावकलाई सम्मान, सहुलियतपूर्ण कर्जा चेक हस्तान्तरण र प्रधानसेनापति प्रशंसा निसान प्रदान गरिएको थियो।
प्रधानसेनापति सिग्देलले सम्मेलनका क्रममा भूतपूर्व सैनिक र एकल महिलासँग सामूहिक छलफल र अन्तर्क्रिया गर्ने कार्यक्रम पनि रहेको छ। सेनाले शुक्रबार उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतसँगै नेपालगञ्ज, दैलेख, कालीकोट, जुम्ला, मुगु, डोल्पा र हुम्लामा भूतपूर्व सैनिक सम्मेलन गर्नेछ।
प्रत्येक प्रधानसेनापतिले आफ्नो तीन वर्षे कार्यकालमा कम्तीमा एक पटक प्रदेशस्तरमा यस्तो सम्मेलन गर्ने प्रचलन छ।
२०७० सालमा सैनिक कल्याणकारी बोर्ड स्थापना भएपछि यसले निरन्तरता पाएको हो। सेनाले हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार एवं सेवा र सहुलियतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। सैनिक कल्याणकारी बोर्डबाट स्वास्थ्य, शिक्षा लगायतका सेवा प्राप्त गर्ने हिताधिकारीको सङ्ख्या १० लाखभन्दा बढी छ।
सम्मेलन जीवनको महत्वपूर्ण समय सेनामा बिताएका पूर्वसैनिकको पुनर्मिलनको अवसर हो। यसले सेनाको सङ्गठन, सैनिक नेतृत्व र हिताधिकारीबीच आत्मीयता, भरोसा र विश्वास वृद्धि हुने अपेक्षा गरिएको छ।