वैदेशिक व्यापार आठ महिनामा १३ खर्ब, व्यापार घाटा ९ खर्ब ८७ अर्ब

काठमाडौं, ७ चैत । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा नेपालको वैदेशिक व्यापार १३ खर्ब नाघेको छ।

साउनदेखि फागुनसम्मको अवधिमा १३ खर्ब ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो। भन्सार विभागका अनुसार गत वर्षको यही अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड रुपैयाँको व्यापार भएको थियो।

यस अवधिमा नेपालले ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ६.२२ प्रतिशतले बढी हो। गत वर्षको सो अवधिमा नेपालले ९ खर्ब २९ अर्ब ५२ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो।

यद्यपि, चालु आर्थिक वर्षमा नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात भने बढेको छ। आठ महिनामा निर्यात ५७.२० प्रतिशतले बढेको छ।

भन्सार विभागका अनुसार चालु आवको आठ महिनामा एक खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ। यो गत आवको सोही अवधिको तुलनामा ५७.२० प्रतिशत बढी हो। गत वर्षको सोही अवधिमा एक खर्ब ६१ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो।

आठ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो गत आवको सोही अवधिको तुलनामा ११.२० प्रतिशत बढी हो। सो अवधिमा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *