भारत सरकारविरुद्ध एलन मस्कको एक्सको मुद्दा, सामग्री नियमनमा विवाद

एजेन्सी, ८ चैत्र । सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिले ट्विटर) का मालिक एलन मस्कले भारत सरकारविरुद्ध मुद्दा दर्ता गरेका छन्। सरकारले सामाजिक सञ्जालमा राखिएका सामग्री हटाउन बारम्बार आदेश जारी गर्ने गरेको र यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पारेको भन्दै एक्सले अदालतमा चुनौती दिएको हो।

भारत सरकार सामाजिक सञ्जालबाट सामग्री हटाउन अनुरोध गर्ने विश्वका शीर्ष पाँच देशहरूमध्ये पर्छ। यो मुद्दा एक्सले भारतीय सरकारको सेन्सरशिप शक्तिलाई चुनौती दिएको पछिल्लो घटना हो। मस्कको स्टारलिङ्क र टेस्ला जस्ता कम्पनीहरू भारतीय बजारमा प्रवेश गर्ने तयारी गरिरहेका बेला यो मुद्दा आएको हो।

एक्सले सरकारले सूचना प्रविधि ऐनको दफा ६९ए अन्तर्गत दिने गरेको अवरुद्ध गर्ने आदेशको दुरुपयोग भएको दाबी गरेको छ। कम्पनीका अनुसार सरकारले विद्यमान सुरक्षा मापदण्डलाई बेवास्ता गर्दै गैरकानुनी रूपमा सामग्री हटाउन बाध्य पारेको छ।

भारतीय कानूनी समाचार वेबसाइट बार एन्ड बेन्चका अनुसार एक्सले यो प्रावधान सूचना रोक्नको लागि समानान्तर संयन्त्रको रूपमा प्रयोग भइरहेको आरोप लगाएको छ।

कर्नाटक राज्यको अदालतमा यस मुद्दाको प्रारम्भिक सुनुवाइ भएको थियो तर कुनै निष्कर्षमा पुग्न नसकेपछि अदालतले मार्च २७ मा अर्को सुनुवाइ तोकेको छ।

यसअघि सन् २०२३ मा पनि भारतीय अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको आलोचना गर्ने ट्वीटहरू हटाउन दिएको आदेशलाई चुनौती दिने एक्सको अपिल खारेज गरेको थियो र कम्पनीलाई जरिवाना तिराएको थियो।

एक्सले सरकारको अवरुद्ध गर्ने आदेशविरुद्ध कानूनी लडाइँ जारी राखेको छ। कम्पनीले प्रभावित प्रयोगकर्ताहरूलाई यस बारेमा जानकारी गराएको छ तर कानूनी प्रतिबन्धका कारण आदेशहरू सार्वजनिक गर्न नसकेको बताएको छ।