म्यान्मा र थाइल्यान्डमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जनजीवन प्रभावित
एजेन्सी, १५ चैत्र । मध्य म्यान्मामा शुक्रबार शक्तिशाली भूकम्प गएको छ। भूकम्पले राजधानी न्यापिडोका सडकहरू भत्काएको छ, भवनहरूमा क्षति पुर्याएको छ र छिमेकी थाइल्यान्डका मानिसहरूलाई सडक पुर्याएका छन् ।
अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो।
म्यान्माको राजधानी न्यापिडोमा भवनहरू ध्वस्त भएका छन् भने सडकहरू भत्किएका छन्।
भूकम्पको धक्काले करिब आधा मिनेटसम्म जमिन हल्लिएको थियो। भूकम्पका कारण हालसम्म कुनै मानवीय क्षतिको खबर आएको छैन। तर भूकम्पले उत्तरी थाइल्यान्डका नजिकका सहरहरू र राजधानी बैंककसम्म त्रास फैलाएको छ। बैंककका भवनहरूमा क्षति पुगेको छ र केही मेट्रो र लाइट रेल सेवाहरू निलम्बित गरिएको छ।
बेइजिङको भूकम्प एजेन्सीका अनुसार कम्पन चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा पनि महसुस गरिएको थियो।
