प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लब लगातार च्याम्पियन

काठमाडौँ, १६ चैत । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको छ । पुलिस क्लबले फाइनलमा शनिबार त्रिभुवन आर्मी क्लबलाई छ विकेटले हरायो ।

पुलिस चौथो पटक प्रधानमन्त्री कप च्याम्पियन बनेको हो । पहिलो संस्करणमा पुलिसले आर्मीसँगै उपाधि बाँडेको थियो । त्यसपछ पुलिस सन् २०१९ र गत वर्ष पनि च्याम्पियन भयो । आर्मी भने पाँचौँ पटक उपविजेतामा थन्किएको हो । अहिलेसम्म सातै संस्करणमा उपाधि भिडन्त गरेको आर्मीले पहिलो संस्करणमा पुलिससँग उपाधि बाँडेको थियो भने चौथो संस्करणमा च्याम्पियन भएको थियो ।

सिद्धार्थ क्रिकेट रङगशालामा टस हारेर पहिले ब्याटिङ गरेको आर्मी ४३ ओभरमा १५४ रनमै अलआउट भएको थियो । पुलिसले जवाफमा २५.२ ओभरमा चार विकेटको क्षतिमा १५७ रन बनायो ।

बसिर अहमदले १०४ बलको सामना गर्दै नौ चौका र एक छक्कासहित अविजित ८६ रन बनाएपछि मात्र आर्मीले पालि ठिकठाक भएको हो । बसिरले कप्तान विनोद भण्डारी (२९ रन)सँग मिलेर छैटौँ विकेटका लागि ७२ रनको साझेदारी निर्वाह गरेका हुन् । पुलिसका लागि तेज बलर करण केसी र स्पीनर सागर ढकालले तीन–तीन विकेट लिए भने कप्तान दिपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशी र गुलसन झाले एक–एक विकेट हासिल गरे ।

पुलिसले सजिलै लक्ष्य हासिल गर्यो । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले ७० बलमा सर्वाधिक ६१ रन बनाएपछि पुलिसको जित सहज बनेको हो । पुलिसका लाग अमित श्रेष्ठ (३९ रन) र दिलिप नाथ(अविजित ३१ रन)ले पनि उपयोगी पालि खेले । आर्मीका साहब आलमले सर्वाधिक तीन विकेट लिए ।

ललितलाई दुईवटा मोटरसाइकल

प्रधानमन्त्री कपमा पुलिसका स्पीनर ललित राजवशी सर्वश्रेष्ठ खेलाडी चुनिए । उहाँले दस खेलमाा ४१ विकेट लिएर कीर्तिमान बनाएका थिए । सर्वश्रेष्ठ बनेपछि ललितपुरले मोटरसाइकल जिते । यसैगरी ललितले सर्वश्रेष्ठ बलर पनि घोषित भएर अर्को मोटरसाइकल हासिल गरे ।
गण्डकी प्रदेशका अर्जुन कुमालले नौ खेलमा एक शतकसहित सर्वाधिक ३७४ रन सर्वश्रेष्ठ ब्याट्सम्यानको पुरस्कार पाए । अर्जुनलाई पनि मोटरसाइकल प्रदान गरियो । यसैगरी आर्मीका प्रारम्भिक ब्याट्सम्म्यान तृतराज दासले उदयीमान खेलाडी घोषित भएर ५० हजार रुपियाँ प्राप्त गरे । तृतराजले दस खेलमा ३६५ रन बनाएका थिए ।