चितवनको विजयी सुरुआत
काठमाडौँ, १८ चैत । एफसी चितवनले सोमबार पोखरा थन्डर्स एफसीलाई २–० ले हराएर नेपाल सुपर लिग (एनएसएल)मा विजयी सुरुआत गरेको छ ।
दशरथ रङगशालामा भएको खेलको १५ औँ मिनेटमा भिक्टर मानसारेले दिएको पासमा उज्बेकिस्तानका मिडफिल्डर नोदिर माभलोनोभले डिबक्सबाहिरबाट सटिक प्रहारमार्फत् गोल गरेर चितवनलाई अग्रता दिलाए । खेलको इन्जुरी समयमा चितवनले अग्रता दोब्बर पार्यो । स्थानापन्न खेलाडी निरज चौधरीले प्रत्याक्रमणमा मानसारेकै पासमा डिबक्सभित्रबाट गोल गरी चितवनको जित पक्का गरे । खेलको ९२ औँ मिनेटमासुमित श्रेष्ठको स्थानमा निरज मैदानमा छिरेको चार मिनेटपछि निरजले गोल गरेका हुन् । गोलकर्ता माभलोनोभ खेलपछि म्यान अफ दि म्याच चुनिए ।
यसअघि चितवन र पोखराबिचको खेल निर्धारीत समयभन्दा १८ मिनेट ढिला सुरु भएको थियो । चितवनका विदेशी खेलाडीको कागज प्रक्रियामा विवाद हुँदा खेल समयमै सुरु हुन नसकेको हो ।
एनएसलअन्तर्गत मङगलबार बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीच खेल हुनेछ ।