पोखरा थन्डर्समाथि ललितपुर सिटीको रोमाञ्चक जित
काठमाडौँ, २० चैत । नेपाल सुपर लिग (एनएसएल) मा उपाधि रक्षा अमिभयानमा रहेको ललितपुर सिटी एफसीले लगातार दोस्रो जित हात पारेको छ । ललितपुर सिटी एफसीले बुधबार पोखरा थन्डर्स एफसीलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ पराजित गर्यो । ललितपुरले चार अङकसहित शीर्ष स्थानमा उक्लेको छ । ललितपुरले पहिलो खेलमा काठमाडौंसँग २–२ गोलको बराबरी खेलेको थियो । पोखराको यो लगातार दोस्रो हार हो । उपोखरा पहिलो खेलमा चितवनसँग २–० ले हारेको थियो ।
दशरथ रङ्गशालामा ललितपुरका लागि विदेशी खेलाडी जोनाथान कान्टिलानाले दुई तथा इमोह इजिकेलले एक गोल गरे । पोखराका लागि समीर तामाङ र जो वायडुले गोल गरे । कान्टिलानाले खेलको ११ औँ मिनेटमा पहिलो गोल गरे । खेलको ४२ औँ मिनेटमा पोखराले बराबरी गोल गर्यो । आयुष घलानले उपलब्ध गराएको क्रसमा नवयुग श्रेष्ठले गरेको हेडर ललितपुरका गोलरक्षक जेफ्री बाल्टसले जोगाए पनि रिबाउन्डमा समीरले गोल गरे ।
तर पूर्वार्धको इन्जुरी समयमा मणि लामाको पासमा फरवार्ड इजेकेलले गोल गरेपछि ललितपुर मध्यान्तरमा अग्रतासहित गएको थियो । खेलको ७५ औँ मिनेटमा कान्टिलानाले पुनः गोल गरेपछि ललितपुर दुई गेलले अगाडि भयो । अतिरित्त समयको १० औं मिनेटमा समिरको पासमा डिबक्सभित्रबाट वाइडुले गोल गरेपनि पोखराले ललितपुरलाई तीन अङक हासिल गर्नबाट रोक्न सकेन ।
दुई गोल गर्ने कान्टिलाना भ्यालुएवल प्लेयर अफ दि म्याच र पोखराका वायडु इनरजेटिक प्लेयर अफ दि म्याच बने । बिहबार झापा एफसी र काठमाडौँ रेजर्सबिच खेल हुनेछ ।