चितवन एफसी दोस्रो जितपछि शीर्ष स्थानमा
काठमाडौँ, चैत २२ गते । नेपाल सुपर लिग (एनएसएल) शुक्रबार घानाका स्ट्राइकर टोरिक जेब्रिनले इन्जुरी समयमा गोल गरेपछि चितवन एफसीले बुटवल लुम्बिनी एफसीलाई १–० ले हराएको छ । यस जितसँगै अन्जन विष्टको कप्तानीमा रहेको चितवन एफसी शीर्ष स्थानमा उक्लियो । चितवन एफसी लगातार दोस्रो जितसहित छ अङकमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा जेब्ररिनले इन्जुरी समयको दोस्रो मिनेटमा रिबाउन्डमा प्राप्त बललाई डिबक्सबाहिरबाट दर्शनीय ढङगले गोलपोस्टमा छिराएका हुन् । खेलको ५५ औँ मिनेटमा नोदिर माभ्लोनोभले डिबक्सबाहिरबाट फ्रिकिकमा प्रहार गरेको बल बुटवल लुम्बिनीका गोलरक्षक दीप कार्कीको हातमा लाग्दै गोलपोस्टमा लागेर फर्केपछि चितवन अग्रता बनाउन बाट वञ्चित भएको थियो । यसअघि ४१ औँ मिनेटमा बुटवल लुम्बिनीका कप्तान एरिक विष्टले फ्रिकिकमा प्रहार गरेको बलमा पनि गोलपोस्ट बाधक बनेको थियो ।
गोलकर्ता जेब्ररिन नै मस्ट भ्यालुएबल प्लेअर घोषित भए । इनर्जेटिक प्लेअयरको पुरस्कार चितवनकै सुमित श्रेष्ठले प्राप्त गरे । शनिबार पहिलो खेल काठमाडौँ रेजर्स र पोखरा थन्डर्स तथा दोस्रो खेल धनगढी एफसी र ललितपुर सिटी एफसी बिच हुनेछ ।