काठमाडौँलाई हराएर धनगढी एफसी एनएसएलको शीर्ष स्थानमा

काठमाडौँ, २९ चैत । गत उपविजेता धनगढी एफले शुक्रबार पहिलो संस्करणको विजेता काठमाडौँ रेजर्सलाई ३–१ ले हराएर नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लेको छ । सो खेलमा लेबनानी स्ट्राइकर अहमद हिजाजीले ह्याट्रिक गरे ।

दशरथ रङगशाला भएको खेलको २२ औँ मिनेटमा काठमाडौँका पअमाडाउमा डियोपले पहिलो गोल गरे । सेनेगलका स्ट्राइकर डियोपको यो तेस्रो गोल हो । मोहम्मद बुया टोरेको पासमा डियोपले गोल गरेका हुन् ।

खेलको ३५ औं मिनेटमा मोहमतको पासमा गोलपोस्ट नजिक रहेका हिजाजीले गोल गरी स्कोर १–१ पारे । खेलको ४१ औँ मिनेटमा युवा मिडफिल्डर कृतिश रत्न छुन्जुको पासमा हिजाजीले पुनः गोल गरे । पूर्वार्धको इन्जुरी समयमा ब्राजिलियाली खेलाडी सर्जियो बारबोजाको पासमा हिजाजले ह्याट्रिक पूरा गरे चालू एनएसलमा हिजाजी ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् ।

सो खेलको ८६ औँ मिनेटमा दुवै टिमका खेलाडीबिच झडप हुँदा काठमाडौँका भिन्सेन्ट कोजिएलो र धनगढीका रन्दीप पौडेलले रातो कार्ड पाएका थिए ।
धनगढीले आज जितेपछि चार खेलमबाट आठ अङ्क बनायो । गत विजेता ललितपुर सिटी एफसी पनि समान आठ अङ्कमा छ । यद्यपि धनगढी राम्रो गोल अन्तरले शीर्ष स्थानमा उक्लेको हो । पाँच खेल खेलेको काठमाडौँ पाँच अङकसहित चौथो स्थानमा कायम छ ।