ललितपुर सिटी प्लेअफमा

काठमाडौँ, ३० चैत । ललितपुर सिटी एफसीले शनिबार बुटवल लुम्बिनी एफसीलाई २–० ले हराएर तेस्रो नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । यस नतिजासँगै ललितपुर सिटी एफसी पाँच खेलमा तीन जित र दुई बराबरीसहित ११ अङक बनाएर शीर्ष स्थानमा उक्लियो । ललितपुर सिटी उपाधि रक्षा अभियानमा रहेको छ । बुटवल लुम्बिनी पाँच खेलमा मात्र एक अङकमा सीमित भयो । बुटवल लुमिबनी प्लेअफको होडबाट बाहिरिने पहिलो टिम बनेको छ ।

दशरथ रङगशालामा खेलको २३ औँ मिनेटमा मणि लामाको कप्तान अनन्त तामाङले हेड गोल गरी ललितपुर सिटीलाई अगाडी पारे । खेलको ८८ औँ मिनेटमा इमोह इजिकेलको पासमा सन्तोष खत्रीले डिबक्सबाहिरबाट गोल गरेपछि बुटवल लुम्बिनीको हार पक्का भयो । ललितपुर सिटीका कप्तान अनन्त म्यान अफ दि मच र सन्तोष इनरजेटिक प्लेअर चुनिएका छन् ।