धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

जनकपुरधाम, ९ वैशाख । धनुषा जिल्लामा विष सेवनका कारण तीन नाबालक बालबालिकाको मृत्यु भएको छ भने उनीहरुकी आमा गम्भीर अवस्थामा छिन् ।

जिल्लाको शहीदनगर नगरपालिका-५ यदुकोहामा सोमबार साँझ यो दर्दनाक घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जीव यादवका अनुसार, स्थानीय सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया छोरी आरुसी साहको मृत्यु भएको हो ।

सुशीलकी श्रीमती ३० वर्षीया पविता साह गम्भीर अवस्थामा छिन् र उनको प्रादेशिक अस्पताल जनकपुरको भेन्टिलेटरमा उपचार भइरहेको इन्स्पेक्टर यादवले जानकारी दिए ।

प्रहरीका अनुसार, सोमबार साँझ करिब ६:४० बजेतिर घरमै आमा र तीन सन्तानले विष सेवन गरेको अवस्थामा फेला परेका थिए । स्थानीयले उनीहरुलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएका थिए, तर अस्पताल पुर्‍याउँदा तीनैजना बालबालिकाको मृत्यु भइसकेको थियो ।

प्रहरीलाई राति करिब पौने ९ बजे मात्र घटनाबारे जानकारी प्राप्त भएको र घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा घरायसी विवादका कारण पविताले पहिले आफ्ना तीनै छोराछोरीलाई विष खुवाएर हत्या गरेको र त्यसपछि आफूले पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।